६ कार्तिक २०८३, शुक्रबार

नेकपामा स्कुल विभागमा अडान यथावत्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । स्कुल विभागको नेतृत्व विवाद नमिल्दा सत्तारूढ नेकपाको सचिवालय बैठक फेरि अवरुद्ध हुन थालेको छ। १३ साउनपछि सचिवालय बैठक बसेको छैन। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

मंगलबारका लागि बोलाइएको बैठक बुधबार बस्ने गरी स्थगित भएको थियो। तर बुधबार पनि बैठक एक दिन पछि सारिएको छ। सचिवालय बैठक अब बिहीबार बस्ने नेताहरुले बताएका छन्।

आन्तरिक गृहकार्य नसकिएका कारण बैठक बिहीबारका लागि सारिएको नेताहरूको तर्क छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय (केपी ओली र पुष्पकमल दाहाल) ले गृहकार्य नपुगेको जानकारी गराउँदै बैठक स्थगितको सूचना सुनाएको बताए। ‘उहाँहरूले गृहकार्यमै छौं भन्नुभएको छ। अरू हामीलाई थाहा छैन,’ प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘अब बिहीबार बैठक बस्ने सूचना छ।’

नेकपामा ३२ विभाग, एउटा नीति अध्ययन प्रतिष्ठान, विशेष प्रदेश, प्रवास कमिटी र २२ वटा जनवर्गीय संगठनको इन्चार्जको जिम्मेवारी तोक्न बाँकी छ। त्यस्तै कम्युनिस्ट जेष्ठ मञ्च, सल्लाहकार पारिषद्, तीन केन्द्रीय आयोग गठन गर्न बाँकी छ।

केन्द्रीय समितिको कार्य विभाजन बाँकी रहेका नेताहरूलाई विभाग, आयोग, विशेष प्रदेश र जनवर्गीय संगठनका फ्याक्सन इन्चार्जको जिम्मेवारी दिने गरी कार्य विभाजन प्रस्तावमा छलफल छ।

तर पार्टीका महत्वपूर्ण मानिने संगठन, विदेश, अर्थ, स्कुल लगायत विभाग सचिवालय सदस्य आफंैले नेतृत्व लिने गरी तयारी छ। त्यसमध्येको स्कुल विभागमा सचिवालयका दुई सदस्य प्रवक्ता श्रेष्ठ र ईश्वर पोखरेलले दाबी छोडेका छैनन्। श्रेष्ठलाई अध्यक्ष दाहाल र पोखरेललाई अध्यक्ष ओलीले स्कुल विभागको नेतृत्व जिम्मा दिन खोजेका छन्।

अध्यक्षद्वयकै रुचि बाझिएपछि विभागको नेतृत्वको टुंगो नलागेको हो। स्कुल विभागलाई छोडेर १८ विभाग पूर्वएमाले र १४ विभाग पूर्वमाओवादी नेताहरूले नेतृत्व लिने गरी भागबन्डा भएको थियो।