६ कार्तिक २०८३, शुक्रबार

योजनाअनुसार बनेन पुल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । काठमाडौं महानगरपालिकाले बनाउन लागेको आकाशे पुल निर्माण योजनाअनुसार सुरु गरिएको छैन । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

महानगरपालिकाले ०७४/७५ मा आफ्नो क्षेत्रभित्र १० वटा आकाशे पुल बनाउने योजना अघि सारेको थियो। महानगरले चाबहिल, जयबागेश्वरी, माइतीघर, टेकुलगायत १० ठाउँमा आकाशे पुल निर्माण गर्ने कार्यक्रम बनाएको हो। तर, योजनाअनुरूप निर्माण सुरु भएको छैन।

महानगरले ५ वर्षमा दशवटा आकाशे पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। लक्ष्य पूरा गर्न १२ करोड रुपैयाँ छुट्ट्याएको थियो। काम सुरु गर्न ०७४/७५ लाई आधार वर्ष मानेको थियो।

आधार वर्षमा स्थान छनोटलगायत कार्यक्रम समावेश थिए। महानगरले योजनाअनुसार पहिलो वर्षमा कम्तीमा तीनवटा आकाशे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर, पहिलो वर्षमा काम सुरुसमेत हुन सकेन। कामको जिम्मेवारी महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागलाई थियो। विभागले अहिलेसम्म काम थालेको छैन।

महानगरका प्रवक्ता ईश्वरीमान डंगोलले भने काममा टेन्डरलगायत विषयमा लामो समय लागेकाले निर्माण ढिलो भएको जानकारी दिए। ‘टेन्डर प्रक्रिया नै लामो हुँदो रहेछ,’ उनले भने, ‘जसले काम सुरु हुन समय लाग्यो। सबै प्रक्रिया सकिएको छ, चाँडै काम सुरु हुन्छ।’ काम सुरु नभएकाले बजेट पनि खर्च नभएको उनले बताए। उनले माइतीघरमा आकाशे पुल निर्माण गर्न ठेक्का दिइएको जानकारी दिए। मौसमको अवस्था हेरेर चाँडै काम सुरु गर्ने उनले बताए।