काठमाडौं, २७ साउन । प्रतिनिधिसभाले आइतबार प्रहरी समायोजन विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन) विधेयक पारित गरेको छ ।
राज्य व्यवस्था समितिले दुवै विधेयक विभिन्न दफा फेरबदल गरेर प्रतिवेदनसहित प्रतिनिधिसभामा पठाएको थियो । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।
प्रतिनिधिसभामा सांसदहरूको छलफलपछि विधेयक पारित गरेका हुन् । गृहमन्त्री रामबहादुर थापाले दुवै विधेयक पारित गर्न प्रतिनिधिसभामा प्रस्ताव गरेका थिए ।
समायोजनमा जाने प्रहरीलाई दुई ग्रेड थप गरिने भएको छ । प्रतिनिधिसभामा छलफलका क्रममा केही सांसदले प्रदेशमा जाने प्रहरीको एक तह बढुवा गर्नुपर्ने तर्क राखेका थिए ।
राज्य व्यवस्थाको बैठकमा केही सांसदले प्रदेशपिच्छे फरक पोसाक हुनुपर्ने प्रस्ताव पनि राखेका थिए । तर एउटै पोसाक रहने प्रावधानसहित विधेयक पारित भएको छ ।
विधेयक पारित भएपछि संघ र प्रदेश प्रहरीको क्षेत्राधिकार तथा समायोजनको कार्यदिशा प्रस्ट भएको छ । यद्यपि विधेयक कानुन बन्न राष्ट्रिय सभाले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्छ । प्रतिनिधिसभाले आइतबार नै वातावरण संरक्षण विधेयक पनि पारित गरेको छ ।















प्रतिक्रिया