६ कार्तिक २०८३, शुक्रबार

लामो रुटमा हुँदैनन् दुई चालक

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २७ साउन । नियमबमोजिम रात्री तथा लामो रुटका बसमा दुई चालक हुनुपर्छ। तर एक जना चालकले मात्र चलाउने गरेको पाइएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

नियमपालन नगर्दा दुर्घटना बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ। एक जनाले मात्र गाडी चलाउँदा थाक्ने, निदाउनेजस्ता कारणले दुर्घटना बढ्न थालेपछि सरकारले दुई चालक हुनैपर्ने नियम बनाएको थियो।

चालक निदाउनु दुर्घटनाको मुख्य कारक रहेको धादिङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर नेत्रप्रसाद भट्ट बताउँछन्। सर्लाहीको मलंगवाबाट काठमाडौं जाँदै गरेको बस बिहीबार बिहान साढे ३ बजेतिर पृथ्वी राजमार्गको सलाङघाटबाट त्रिशूलीमा खस्यो।

९ जनाको ज्यान गयो। १६ जना घाइते भए। २० भन्दा बढी हराइरहेको आशंका प्रहरीले गरेको छ। उनीहरूको खोजी जारी छ।

‘दुर्घटनामा चालकको लापरवाही प्रमुख कारण रहेको हाम्रो अनुमान छ। सडकछेउको कल्र्भटमा गाडी ठोक्किएर १५ मिटरजति परबाट नदीमा खसेको देखिएको छ’, उनी भन्छन्, ‘दुर्घटनास्थलको भूबनोट हेर्दा त्यति धेरै दुर्घटनाको जोखिम रहेको ठाउँ होइन। ’

उनका अनुसार चालक बोल्नै नसक्ने अवस्थामा रहेकाले सत्यतथ्य बाहिर आएको छैन। एउटै चालकले लामो समय सवारी चलाउँदा थाकेको र बिहानीपख चिसो वातावरणमा चालक निदाएको हुन सक्ने प्रहरीको अनुमान छ।

बसमा चालक र सहचालकबाहेक अर्का एक जना पनि थिए। उनी अतिरिक्त चालक थिए/थिएनन् पुष्टि हुन सकेको छैन। प्रायः सवारीधनीले अतिरिक्त चालकका रूपमा सिकारु चालक राखी सुरक्षा जाँचका बेला सुतेको छ भनेर ढाँट्ने गरेको जानकार बताउँछन्।

लामो दुरीका सवारी चलाइरहेको महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष डम्बर पन्तले सबै सवारीधनीलाइ २ चालक अनिवार्य राख्न निर्देशन गरिएको बताए। उनले भने, ‘एक त लामो दुरीका चालक थोरै छन्, त्यसमा पनि दक्ष नभएकाले सवारीधनीलाई चालक ब्यवस्थापन गर्न समस्या भइरहेको छ। ’

राजमार्गका मुख्य चेक प्वाइन्टमा पनि सवारीधनीले चालक फेरिएको भन्ने गरेका छन्। ‘मुख्य चेकजाँच गर्ने ठाउँ आँपटारी, मुग्लिन, गजुरीलगायतमा सामान्यतः सोधपुछ भइरहेको हुन्छ’, ट्राफिक प्रहरी प्रमुख भट्ट भन्छन्, ‘सवारीधनी र चालक भर्खरै परिवर्तन भयो भन्छन्। यात्रु मौन बस्छन्।’ महेन्द्रनगरबाट आएको रात्रीबसका एक यात्रु शनिबार बिहान मलेखुमा चिया पिउँदै थिए। उनले भने, ‘गाडी स्टाफ भनेर २/४ जना देखिएका त थिए तर बाटोमा चालक परिवर्तन भए/नभएको यादै भएन। ’