२ कार्तिक २०८३, सोमबार

स्वाइनफ्लु रोक्न सीमामा हेल्प डेस्क स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doctor

विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, १० फागुन । भारतमा फैलिएका ‘स्वाइनफ्लु’ महामारी रोग नेपालमा भित्रिन नदिन बाँकेका सीमाजर्ती क्षेत्रमा सतर्कता अपनाइएको छ । छिमेकी देश भारतको मध्य प्रदेश, राजस्थान, लखनऊ र नयाँ दिल्लीमा स्वाइनफ्लु देखा परेपछि बाँकेका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो ।

स्वाइनफ्लु रोकबाट भारतमा हालसम्म ७ सय ३ जनाको मृत्यू भइसकेको छ । खुल्ला सीमाना र आवतजावतमा कुनै रोकतोक नभएका कारण भारतबाट नेपालमा सजिलै स्वाइनफ्लु भित्रिन सक्ने खतरा भएकोले सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतबाट नेपालमा भित्रिन सक्ने खतरालाई मध्यनजर गरि शनिवार जमुनहा नाकामा स्वाइनफ्लुको जाँच, सचेतना र उपचारका लागि जमुनहा चौंकीमा ‘हेल्प डेस्क स्थापना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका महामारी रोग नियन्त्रण फोकल पर्सन राम वहादुर चन्दले जानकारी दिए ।

भारतमा स्वाइनफ्लुको महामारी फैलिन थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा शुक्रवार जिल्ला विपद ब्यवस्थापन समिति अन्तरगत स्वास्थ्य फाँटको आपतकालिन बैठक बसेको थियो ।

बैठकले सीमा नाकामा हेल्थ डेस्क संचालनगर्ने, शंकास्पद विरामीलाई सिधै भेरी अंचल अस्पतालको आइसुलेशन कक्षमा लगेर उपचार गर्ने, स्वाइनफ्लु रोगको बारेमा सर्वसाधारण नागरिकमा सचेतना जगाउन पत्रपत्रिका, एमफम रेडियोबाट सूचना प्रकाशन/प्रसारण गर्ने लगायतका निर्णय गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी रोग नियन्त्रण फोकल पर्सन चन्दले जानकारी दिए ।

यसअघि सन् २००९ मा पनि भारतबाट बाँकेमा स्वाइनफ्लु रोग देखा परेको थियो । तर, त्यतिखेर देखा परेको स्वाइनफ्लु भारतमा अहिले देखिएकोभन्दा नरम रहेको चन्दले बताए । ‘अहिले देखा परेको स्वाइनफ्लु पहिलेकोभन्दा कडा खालको छ’–उनले भने ।

हेल्प डेस्कमा नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई गरी ४ महिला सुरक्षाकर्मी र जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी पनि खटिएका छन् । हेल्प डेस्कमा स्वाइनफ्लु नियन्त्रणका बारेमा सीमा वारपार गर्नेलाई स्वाइनफ्लुबाट बच्ने उपाय, सुरक्षा र देखा परिहालेको खण्डमा अस्पतालमा जाँच गराउन आग्रहसहितका सन्देश समावेश गरिएका पर्चा बितरण गर्ने तयारी भइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

बिद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीलाई जानकारी दिनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले पर्चा बितरणको तयारी गरेको कार्यालयका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक नगेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले महामारीलाई आउनै नदिन सीमामा बिशेष निगरानी बढाइएको बताए । स्वाइनफ्लुबाट जोगिनका लागि प्रभाबित क्षेत्रमा नजान जनस्वास्थ्यले आग्रह गरेको छ । अतिआवश्यक काम बाहेक अन्य कामका लागि भारत नजान जिल्ला विपद ब्यवस्थापन समितिले पनि सुझाव दिएको छ ।

उता, कैलालीका सीमावर्ती क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । सुदूरपश्चिमबाट अहिले रोजगारीका लागि भारत नजान र व्यापारीलाई पनि मालसामान झिकाउन भारत नजान अधिकारीहरुले आह्वान गरेका छन् ।