काठमाडौं, २६ साउन । मंसिर १४ गते हुने उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ ।
संविधानसभाका दुइटै उपनिर्वाचनमा मेसिन प्रयोग सफल भए पनि दलहरूले इच्छा नदेखाएपछि अहिले निर्वाचन आयोगले मेसिनको तयारी नै गरेको छैन । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।
प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तहका प्रमुख/अध्यक्ष ४, उपाध्यक्ष १ र वडाध्यक्ष ४१ गरी कुल ५० पदका लागि उपनिर्वाचन हुँदै छ ।
‘यसपटक मेसिन प्रयोगको सम्भावना छैन, त्यसको प्रक्रियामै लागिएन,’ आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले भने, ‘भक्तपुरदेखि हुम्लासम्म निर्वाचन गराउनुपर्नेछ । अबको तयारीले मेसिन प्रयोगका लागि समय पनि पुग्दैन ।’
आयोगले ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र १ मा पहिलोपटक मेसिन प्रयोग गरेको थियो । त्यसपछि ०६५ र ०७१ का उपनिर्वाचन पनि मेसिनबाटै गराइएका थिए ।
आयोगका एक अधिकारीले चुनाव र उपचुनाव गरी १३ वटा निर्वाचन क्षेत्रमा मेसिन प्रयोग भएको जानकारी दिए । भारतले दुईपटक गरेर आयोगलाई १२ सय मेसिन अनुदान दिएको छ । अहिले ती मेसिन कुन अवस्थामा छन्, आयोगलाई थाहा छैन । कति मेसिन जिल्लामा छरिएका छन् त कति काठमाडौंमै छन् ।















प्रतिक्रिया