१ कार्तिक २०८३, आइतबार

जम्मु कश्मीरबाट सबै प्रतिबन्ध हटाइने

21.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्रीनगर, २६ साउन । भारतीय अधिकारीले धारा ३७० हटाएपछि अवस्था सामान्य भएको बताउँदै सबै प्रतिबन्ध छिटै हटाइने बताएका छन्।

हाल जम्मु कश्मीरमा भारतीय सुरक्षा संयन्त्र पूरै खटिएको छ। जम्मु कश्मीरका अतिरिक्त प्रहरी महानिरीक्षक मुनीर खानले शनिवार छिटै प्रतिबन्ध हटाइने जानकारी दिएका हुन्। कश्मीरी जनतालाई आफ्नो नियमित काममा फर्कन पनि उनले आग्रह गरेका छन्।

जम्मु कश्मीरका कैयौं ठाउँमा शुक्रवारदेखि कार्यालय र शिक्षण संस्था सुचारु भइसकेका छन्। ठाउँठाउँमा मण्डी र बजार खुला गरिएका छन्। मुस्लिम बहुल कश्मीरमा इदलाई लक्षित गरी बजार खुला गरिएका छन्। सरकारले सबै स्वास्थ्य केन्द्र र क्लिनिक खुला भएको जानकारी दिएको छ।

महानिरीक्षक खानले भने, ‘सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्नेलाई नियन्त्रणमा लिन केही ठाउँमा अ श्रुग्याँस प्रहार गरेका छौं। त्यसबाट केही प्रदर्शनकारी सामान्य घाइते भएका छन्। कोही पनि गम्भीर घाइते छैनन्।’

यहाँको जनजीवन सामान्य बनाउन भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतको संयन्त्र पूरै जुटेको छ। उनले विभिन्न ठाउँमा स्थानीय बासिन्दालाई भेटेका छन्। उनले बिहीवार शोपियाँमा स्थानीयसँग खाना खाएका थिए।

यसैगरी शनिवार अनन्तनाग जिल्लामा उनी सडकमा बटुवालाई सम्बोधन गर्दै कुराकानी गरिरहेका तस्बिर र भिडियो सार्वजनिक गरिएका छन्। उनले बकरीदका लागि भेडाबाख्रा बेच्न आएका मानिसलाई भेटेर शान्ति कायम भएको आश्वस्त पारिरहेका थिए। यसैबीच जम्मु कश्मीरमा तैनाथ सुरक्षाकर्मीसँग हात मिलाउँदै गरेका एक बालकको तस्बिर निकै भाइरल भएको छ।