
काठमाडौं, २५ साउन । प्रहरीले २ जनालाई करिब १ केजी गाँजासहित शुक्रबार दिउँसो पक्राउ गरेको छ ।
धनकुटा, महालक्ष्मी नगरपालिका १ घुमाउने भन्ने स्थानबाट तेह्रथुम लालिगुराँस नगरपालिका २ बस्ने २० वर्षीय सुजित भण्डारीसहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी मारेककटहरेबाट खटिएको प्रहरीले को.१७ प १०६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यता, बाँके नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट अवैध लागूऔषध ब्राउनसुगर ३.३ मिलीग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० खजुरा बस्ने २८ वर्षीय भुबन बिक र १९ वर्षीय अशोक सोनीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
सीमा प्रहरी चौकी जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले रुपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, नवलपरासीमा २३ वर्षीय अर्जुनकुमार क्षेत्रीलाई नियन्त्रित लागूऔषध डाइजेपाम २५ एम्पुल, नुर्फिन २५ एम्पुल र फेनारगन २५ एम्पुलसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । कावासोती नगरपालिका १६ कोल्हुवा चोकबाट चितवन भरतपुर महानगरपालिका बस्ने उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले म.१ ख.८११ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका ८ फुलबारीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २ सय ५८ एम्पुल, नुर्फिन २ सय ५८ एम्पुल र फेनारगन २ सय ५८ एम्पुलसहित कास्की लेखनाथ नगरपालिका १८ बस्ने २० वर्षीय कृष्ण गुरुङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना.५ ख ८६९८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी, लागूऔषध मुद्दाका फरार अभियुक्त ३८ वर्षीय संगम भन्ने बीरबहादुर वाईवालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका ९ मा गत जेठ १ गते राति बिआर ३० जिपि १४५८ नम्बरको जिपमा अवैध लागूऔषध गाँजा १ सय ५२ केजी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको घटनामा वाईवा फरार रहेका थिए ।
वाईवालाई जिल्ला अदालत सर्लाहीको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय झुम्का पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया