न्युयाेर्क, २५ साउन । अमेरिकाको टेक्सास राज्यको एल पासोमा २२ जनाको ज्यान जाने गरी अन्धाधुन्ध गोली चलाएका आक्रमणकारीले आफूले मेक्सिकन ओरिजिनका व्यक्तिलाई निशाना बनाएको स्वीकार गरेका छन् ।
एल पासोमा रहेको वालमार्टमा अन्धाधुन्ध गोली चलाएका व्यक्तिले प्रहरी समक्ष आफूले ‘मेक्सिकन’ लाई निशाना बनाएको स्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
प्याट्रिक क्रुसिअस नाम गरेका ती आक्रमणकारीले प्रहरी हिरासतमा रहेका बेला दिएको बयानमा आफूले मेक्सिकनहरुलाई निशाना बनाएको उल्लेख गरेको अमेरिकी सञ्चारमाध्यमले दाबी गरेका छन् ।
आरोपित आक्रमणकारीले हिस्पेनिस आप्रबासीको निन्दा गर्दै अनलाईनमा विभिन्न सामग्री पोस्ट गर्ने गरेको सरकारी अधिकारीले बताएका छन् । गएको शनिबार एल पासोमा घटना भएको हो ।
त्यसको केही घण्टापछि ओहायोको डेटनमा भएको अन्धाधुन्ध गोलीकाण्डमा ९ जनाको ज्यान गएको थियो । केही घण्टा फरकमा भएका दुई गोलीकाण्डमा ३१ जनाको ज्यान गएपछि अमेरिकामा बन्दुक सम्बन्धी कानूनलाई लिएर राष्ट्रिय बहस सघन भएको छ ।
डेमोक्र्याटिकहरुले बन्दुक सम्बन्धी कानून कडा गर्नु पर्ने बताउँदै आएका छन् । यसमा रिपब्लिकन सहमत देखिएका छैनन्, तर पछिल्ला घटनापछि उनीहरु बन्दुक खरिदकर्ताको पृष्ठभूमि सम्बन्धी जाँच कडा गर्नमा सहमत देखिएका छन् ।
एल पासोका आरोपित आक्रमणकारी प्याट्रिकविरुद्ध हेट क्राइम अर्थात घृणाका कारण अपराध गरेको सम्बन्धी मुद्दा दायर गर्ने तयारी सरकारी अधिकारीले गरेका छन् । यसमा दोषी पाइएमा उनीमाथि मृत्युदण्डको सजाय हुनेछ ।















प्रतिक्रिया