मुम्बई । बलिउड नायक सलमान खान नयाँ पुस्तालाई आफ्नो फिल्ममा ब्रेक दिनेमध्ये अग्रस्थानमा पर्छन् । उनले धेरै नयाँ कलाकारलाई आफ्ना फिल्ममार्फत् बलिउडमा छिराएका छन् ।
चाहे त्यो ‘दबंग’ मार्फत् सोनाक्षी सिन्हालाई होस् चाहे ‘लक्की’ फिल्ममार्फत् स्नेहा उलाललाई होस्, चाहे ‘वीर’ मार्फत् जरिन खानलाई, चाहे कलाकारकै छोराछोरीलाई डेब्यु गराउन होस् ।
सुनील सेट्ठीकी छोरी आथिया, आदित्य पञ्चोलीका छोरा सुरज पञ्चोलीदेखि उनले कोरियोग्राफर डेजी शाह लगायत थुप्रैलाई आफ्ना फिल्ममार्फत ब्रेक दिएका छन् ।
सलमानले अभिनयको बाटो डो-याउन मद्दत गरेकामध्ये कसैले सफलता पाए भने कोही पलायनै भए । उनले पछिल्लो समय इराकी–अफ्गानी मोडल वरिना हुसेन र आफ्ना ज्वाइँ आयुष शर्मालाई ‘लभरात्री’ मा डेब्यू गराए । त्यस्तै ‘नोटबुक’ मार्फत् प्रनुतन ब्हेल र जाहिर इकबाललाई गराए ।
उनले आफ्ना अंगरक्षक शेराका छोरालाई पनि बलिउडमा डेब्यू गराउने भएका छन् । कुन फिल्मबाट प्रवेश गराउँछन् भन्ने टुंगो भने लागेको छैन ।
सलमान भन्छन्, ‘म नयाँ पुस्तालाई खोजी(खोजी सकेसम्म मेरा फिल्ममा ल्याउन प्रयास गर्नेछु ।’
सलमानको यही प्रयासको फाइदा अब अभिनेत्री कटरिना कैफकी बहिनीलाई पनि हुने भएको छ । कटरिनाकी बहिनी इजाबेल कैफलाई सलमानले आफ्नो फिल्ममा ब्रेक दिने भएका छन् । इजाबेलसँगै फिल्ममा सलमानका ज्वाइँ आयुष शर्मा पनि देखिनेछन् । आयुष अर्पिता खानका श्रीमान हुन् ।
सलमान खानले ज्वाइँ आयुष र इजाबेलको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘इजाबेल र आयुष एउटा सत्यघटनामा आधारित फिल्म ‘क्वाथा’ मा देखिनेछन् ।’
इजाबेल कैफ पनि आफू फिल्ममा काम गर्ने भएपछि निकै उत्साहित देखिएकी छन्। उनले इन्स्टाग्राममा पोस्ट गरेकी छन्, ‘म एउटा फिल्मको हिस्सा बन्दैछु, यो कुरा तपाईंहरूलाई सुनाउन म धेरै उत्साहित छु ।’
सलमानले डेब्यू गराएका धेरै कलाकार डेब्यू फिल्मबाटै हराइसकेका छन् । यस्तो अवस्थामा इजाबेलको भाग्य चम्काउन सलमान कत्तिको सफल हुन्छन् त्यो हेर्न बाँकी नै छ ।















प्रतिक्रिया