काठमाडौं, १० फागुन । सीतापाइला तेक्वान्दो डोजाङ र आयोजक स्युचाटार तेक्वान्दो डोजाङ ‘ए’ ले चौथो स्युचाटार आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपाधि जितेका छन् । सीतापाइला गेरोगी र स्युचाटार ‘ए’ पुम्सेतर्फ च्याम्पियन बनेका हुन् ।
सीतापाइलाले ४ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै उपाधि चुमेको हो । ३ स्वर्ण, ४ रजत र २ कांस्यसाथ आयोजक ‘ए’ दोश्रो तथा २ स्वर्ण र ३ कांस्यसाथ कोटेश्वर तेक्वान्दो डोजाङ तेश्रो भयो ।
पुम्सेमा च्याम्पियन बनेको स्युचाटार ‘ए’ ले ४ स्वर्ण, २ रजत र १ कांस्य हासिल ग-यो । समान २–२ स्वर्ण, रजत र कांस्य हात पारेको सीतापाइला दोश्रो भयो । तेश्रो स्थानको विजेश्वरीले १ स्वर्ण, १ रजत र २ कांस्य प्राप्त ग-यो ।
गेरोगीको सिनियरतर्फ पुरुषमा धादिङका राजेशकुमार गुप्ता र महिलामा कोटेश्वरकी काजल श्रेष्ठ तथा जुनियरको पुरुषमा कपनका सुशील भण्डारी र महिलामा सीतापाइलाकी दक्षीणा शाही ठकुरी उत्कृष्ट खेलाडी चुनिए । पुम्सेको पुरुषमा अस्मित रेग्मी र महिलामा अस्मिता खड्का उत्कृष्ट खेलाडी चुनिए । दुवै आयोजक ‘ए’ का हुन् । काठमाडौंका राजेन्द्र पुजारी उत्कृष्ट निर्णायक घोषित भए ।
सो अवसरमा रसियमा भएको पाँचौं विश्व पारा तेक्वान्दोका रजत विजेता यादव कुँवर र उनका प्रशिक्षक जर्नाजन ढुंगेललगायतलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुष पौडेल, एमाले नेतृ अष्टलक्ष्मी शाक्यलगायतले पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको गेरोगीमा १६ र पुम्सेमा ८ गरी जम्मा २४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।















प्रतिक्रिया