नयाँदिल्ली, २२ साउन । दीपक चाहरको उत्कृष्ट बलिङ्ग तथा विराट कोहली र ऋषभ पन्तको उत्कृष्ट ब्याटिङ्गको सहयोगमा वेष्ट इन्डिजसँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खलाको अन्तिम तथा तेस्रो खेलमा भारत विजयी भएको छ ।
भारतले वेष्ट इन्डिजमाथि सात विकेटको जित दर्ता गरेको हो । भारतले शृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको छ ।
कप्तान विराट कोहलीले टस जितेर पहिले बलिङ्ग रोजे । निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा वेष्ट इन्डिजले १४६ रन बनायो । किरोन पोलार्डले एक चौका र ६ छक्काको सहयोगमा ५८ रन बनाए ।
भारतका दीपक चाहरले तीन आभरमा चार रन खर्चेर तीन विकेट लिए । उनी म्यान अफ दि म्याच घोषित भए ।
यो खेलमा दीपकका कजन ब्रदर राहुल चाहरले पनि मौका पाएका थिए । उनले तीन ओभरमा २७ रन खर्चेर एक विकेट लिए ।
१४७ रनको लक्ष्य पछ्याएको भारतको सुरुवात राम्रो रहेन । शिखर धवन तीन रनमा आउट भए । तर कप्तान कोहलीले ५९ तथा ऋषभ पन्तले नटआउट ६५ रन बनाएपछि भारतले पाँच बल बाँकी हुँदा खेल सात विकेटले जित्यो ।
पन्तले ४२ बलमा चार चौका र चार छक्काको सहयोगमा ६५ रन बनाएका हुन् । कोहली र पन्तले तेस्रो विकेटका लागि १०६ रनको साझेदारी गरे ।
भारतका क्रुणाल पाण्डेय म्यान अफ दि सिरिज घोषित भए । उनले तीन खेलमा ३२ रन बनाए भने तीन विकेट पनि लिए ।















प्रतिक्रिया