काठमाडौं । ‘सय थरी गोडा एउटै चाल’, ‘कुन बेला टेक्यौ मनको संघार’, ‘सबैले दिने उस्तै हुन्छ माया’, ‘फूल झरे पनि काँडा झर्दैन’, ‘तारी नदेउ हे माझी दाइ’ सहित लोकप्रिय लोक तथा आधुनिक गीतकी गायिका तारा थापाको अहिले स्वथ्यमा सुधार आइरहेको छ ।
गत असार २७ गते भक्तपुर क्यान्सर अस्पतालमा सफल शल्यक्रिया भएको थियो । गायिका थापाले छ वटा केमो थेरापी तथा तीन सातासम्म रेडियो थेरापी लिइसकेकी छिन् ।
यतिबेला स्वास्थमा सुधार आइरहेको बताउँदै थापाले नेपालका अस्पतालमा उपलब्ध नभएको ‘पेट थेरापी’ गर्नका लागि आइतबार (फागुन १७) गते भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने बताइन् ।
क्यान्सर रोगबाट पीडित थापालाई उपचारका लागि सहयोग प्राप्त हुने क्रम जारी छ । गत असार महिनामा पहिलो पटक क्यान्सर रोग लागेको पत्ता लागेपछि हालसम्म उपचाररत गायिका थापालाई बेलायतमा बसोबास गरिरहेकी गायिका शर्मिला वर्देवाले नगद एक लाख एक हजार रुपियाँ हस्तान्तरण गरिन् ।
अनामनगरस्थित गुञ्जन स्टुडियोमा हालै आयोजित एक अनौपचारिक समारोहमा संगीतकार आलोकश्री तथा रंग पत्रकार कृष्ण भट्टराईको सहभागितामा गायिका वर्देवाले थापालाई उक्त रकम हस्तान्तरण गरेकी हुन् । गायिका बर्देवाले केही समयअघि बेलायतमै सांगीतिक कार्यक्रम आयोजना गर्दै यो रकम संकलन गरेकी हुन् ।
गायिका वर्देवाका श्रीमान् सरोज परियारद्वारा आयोजित ‘गायिका तारा थापाको सम्मानमा आयोजित सांगीतिक साँझ’ कार्यक्रममार्फत संकलन गरिएको रकममा तामाङ समाज यूकेको अर्को एक कार्यक्रमको रकमसमेत जम्मा गरी गायिका थापालाई हस्तान्तरण गरिएको हो ।
गायकद्वय मिलन लामा तथा योगेश्वर अमात्यले पनि गायिका थापाका लागि आर्थिक सहयोग गरेको गायिका बर्देवाले बताएकी छिन् । ‘केही गीत रेकर्ड गर्ने शिलशिलामा काठमाडौं आएको बेला गायिका तारा दिदीको उपचारका लागि सानो रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ, गायिका वर्देवाले रकम हस्तान्तर गर्दै भनिन् ।
स्वदेश तथा विदेशमा बसोबास गर्ने नेपाली तथा संगीतकर्मीबाट पाएको आर्थिक सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै गायिका थापाले भनिन्, ‘गायिकाको रुपमा दर्शक, स्रोता तथा संगीतकर्मीको मनमा बस्न सफल भएकी रहेछु भन्ने कुराले ममा प्रसस्त आत्मबल बढेको छ ।’
गायिका थापाले छ महिनापछि पुन: गीत रेकर्डिङ गर्ने अवस्थामा पुग्ने आत्मबल बढेको बताएकी छिन् ।













प्रतिक्रिया