
इटहरी, १५ साउन । इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ । सामाजिक विकास मन्त्री जिवन घिमिरेले आकस्मिक सेवाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले इटहरी तथा इटहरी आसपास र पहाडी जिल्लाका बासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने बताए । उनले इटहरी अस्पतालको स्तरोन्नत्तिका लागि प्रदेश सरकारको चासो र सरोकार रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद लिलम बस्नेत, संविधानसभाकी सांसद अनिता परियार, इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम, नेपाली काँग्रेस इटहरी सभापति हेमकर्ण पौडेल, वडाध्यक्ष भुपेन्द्र वराल लगायतले शुभकामना व्यक्त गरे ।

कार्यक्रमको अध्यक्ष रहेका इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीको विकास र सम्वृद्धिले केहि समयमै नयाँ उचाई लिने दावी गरे ।
कार्यक्रममा इटहरी अस्पतालकी प्रमुख डा रोमी यादवले इटहरी अस्पतालवाट गत बर्ष ३७ हजार २९ जनाले सेवा लिएको जानकारी दिइन् । २०२४ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भई ५३ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साल साउन १ गते देखि इटहरी अस्पतालमा रुपान्तरण भएको हो ।
१५ सैयाको अस्पताललाई सुविधा सम्पन्न ट्रमा सेन्टर सहित ५० सैयाको अस्पताल बनाउने इटहरी उपमहानगरले लक्ष्य राखेको छ ।












प्रतिक्रिया