२८ आश्विन २०८३, बुधबार

यस्तो छ एमालेभित्रको विवाद र बहस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-jhalnath-kp-madhav-bamdev

काठमाडौँ । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट दोस्रो जनआन्दोलनप्रति ‘शान्तिपूर्ण जनक्रान्ति’ को दृष्टिकोण राख्दै आएको नेकपा (एमाले) को नवौं महाधिवेशनमा त्यसलाई ‘पुँजीवादी–जनवादी क्रान्ति’ को संज्ञा दिन शीर्ष नेताहरू अग्रसर भएका छन् ।

पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलगायत नेताले देशका श्रमजीवी र पुँजीपति वर्गको सहभागितामा सम्पन्न आन्दोलनबाट राजतन्त्र ढलिसकेकाले त्यसलाई ‘पुँजीवादी–जनवादी क्रान्ति’ को संज्ञा दिनुपर्ने पक्षमा विचार व्यक्त गर्दै आएका छन् । वैचारिक बहससँगै यतिबेला एमालेमा नेतृत्वका दाबी र घोषणा पनि भइरहेका छन् ।

छ वर्षअघि बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा २०६२÷०६३ को आन्दोलनाई ‘कस्तो क्रान्ति’ भन्नेमा मतैक्य नहुँदा ‘शान्तिपूर्ण जनक्रान्ति’ भन्ने वाक्यांश पारित दस्तावेजमा उल्लेख थियो । कतिपय नेताले यसलाई पुँजीवादको सङ्क्रमण अथवा विशेष प्रकारको क्रान्ति पनि भन्दै आएका छन् ।

सामान्तवाद ढलेर पुँजीवादको प्रारम्भिक चरणमा नेपाल प्रवेश गरिसकेकाले अब समाजवादउन्मुख कार्यनीति ल्याउन जोड दिने खनाल, नेपाल र गौतमको विचारमा नेता केपी शर्मा ओली निकट सचिव शंकर पोखरेल तथा नेताहरू प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाललगायत भने सहमत छैनन् ।

माक्र्सवादी विचारधारा बोक्ने कम्युनिष्टले कूतमा आधारित समाजलाई सामन्तवादी, ज्यालामा आधारित समाजलाई पुँजीवादी र वितरणमा आधारित समाजलाई समाजवाद मान्ने गर्छन् । समाजमा परिवर्तनका लागि तीन चरणको क्रान्ति हुने गरेका विश्वव्यापी मान्यता छ ।

पुँजीवादी क्रान्ति भएका विश्वका अन्य मुलुकको तुलनामा नेपालमा पछिल्लो समयमा भएको राजनीतिक परिवर्तन विशिष्ट प्रकृतिको (मजदुर र पुँजीपतिको संलग्नता) भएकाले यसलाई पुरानो पुँजीवादी क्रान्ति भन्न नसकिने तर यो ‘पुँजीवादी–जनवादी क्रान्ति’ को एक रूप भएको धारणा खनालपक्षीय नेताको छ । यो विचारलाई युवा नेता सुरेन्द्रप्रसाद पाण्डे, भीमबहादुर रावल, रघुजी पन्त, घनश्याम भुसाल, योगेश भट्टराई, डा विजय पौडेल, गोकर्णराज विष्टलगायतले कार्यकर्ताको बीचमा लगिरहेका छन् । पार्टीले महाधिवेशनका लागि वैचारिक बहस खुला गरेपछि समूहगत छलफल र भेटघाटमा नेता–कार्यकर्ता व्यस्त हुन थालेका हुन् ।

राजतन्त्र ढल्दैमा सामन्तवादका अवशेष समाप्त नभएको र अहिले नै पुँजीवाद आइसकेको मानेर कार्यक्रम अघि सार्दा समाजको वर्ग चरित्रलाई ठीक ढंगले नबुझेको ठहरिने तर्क नेता शंकर पोखरेललगायतको छ । यद्यपि विचारको यो बहसमा नेता ओलीले प्रत्यक्षरूपमा आफ्ना स्पष्ट अभिव्यक्ति दिएका छैनन् ।

अध्यक्ष खनाल र वरिष्ठ नेता नेपालले ‘पुँजीवादी–जनवादी क्रान्ति’ को एक चरणमा मुलुक प्रवेश गरिसकेको अवस्थामा जनताको बहुदलीय जनवाद (जबज) लाई सामायिक परिवर्तन गर्नुपर्ने पक्षमा धारणा दिँदै आएका छन् भने पोखरेलहरूले जबजकै विचारको जगमा दोस्रो जनआन्दोलन भएकाले त्यसमा परिमार्जन गर्न नपर्ने अडान राखिरहेका छन् ।

विचारका यी दुई कोण र नेतृत्वको गठबन्धन निर्माणमा नेताहरू व्यस्त रहँदा नवौंँ महाधिवेशनका लागि दस्तावेज लेखनको कार्यमा विलम्ब भइरहेको छ । यही वैशाख १० गतेका लागि पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक पनि अनिश्चित गरेर नेताहरू समूहगत तथा कार्यकर्ता सम्बोधनका कार्यक्रममा उत्रिरहेका छन् । एमालेको नवाँैं महाधिवेशन आगामी जेठ २४ देखि ३१ गतेसम्म काठमाडौंँमा हुँदैछ ।

पार्टीका पूर्वअध्यक्ष तथा पहिलो नेपाली वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको १५ औं स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठान र एमाले उपत्यका समन्वय कमिटीले राजधानीमा गरेको प्रवचन कार्यक्रममा पनि नेताहरूबीच वैचारिक तथा सांगठनिक घोचपेच देखियो ।

अध्यक्ष खनालले विचारधारा र राजनीतिक कार्यदिशाका आधारमा पार्टीलाई सही, क्रान्तिकारी र मुलुुकको अगुवा पार्टी बनाउनुपर्ने धारणा राखे भने वरिष्ठ नेता नेपालले पनि पार्टीमा आन्तरिक एकताको आधार विचार नै भएको बताए । उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले चाहिँ विचारको पक्षलाई भन्दा आगामी पार्टी अध्यक्ष नेता केपी शर्मा ओली हुनुपर्नेमा कार्यकर्तालाई सम्झाउन बढी समय खर्चिए ।

अध्यक्ष खनालले राजतन्त्र ढलेपछि मुलुकमा सामन्तवर्ग नेतृत्व र अस्तित्वविहीन अवस्थामा पुगेको जनाउँदै भने, ‘समाजको चरित्र विश्लेषणका लागि शास्त्र मात्रै नहेरौंँ, वास्तविकता र व्यावहारिकता पनि हेरौं, दोस्रो जनआन्दोलन ‘पुँजीवादी–जनवादी क्रान्ति’ कै एक हिस्सा हो ।’

वरिष्ठ नेता नेपालले जबजलाई खोपीको देउता नबनाउन र क्रान्तिबारे अलि अध्ययनशील हुन फरक समूहका नेताहरूलाई आग्रह गर्दै रहर गर्दै पार्टीको नेतृत्वमा पुग्न नसकिने तर्क अघि सारे । उनले भने–“जतिखेर पनि पदका कुरा गर्नेहरुले विचारका आधारमा पार्टीलाई नेतृत्व गर्न सक्दैनन्, व्यवस्थापन गर्न सकिएको भए उर्मिला अर्यालहरू एमाओवादीमा जाँदैनथे, आफू बसेको ठाउँ छाड्न नचाहने अनि नेतृत्व हस्तान्तरणको कुरा गर्ने ? व्यवस्थापन गर्न सकेको भए विचरा उर्मिलाजीहरूले पार्टी छाड्ने थिएनन् ।”

नेत्री अर्यालले पार्टी निकट अखिल नेपाल महिला संघको अध्यक्षमा भण्डारीको विपक्षमा उम्मेदवारी दिएकी थिइन् ।

रासस