काठमाडौं, ८ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलहरुको पूर्वराजा ज्ञानेन्द्र शाहसँग कुनै पनि सहमति सम्झौता नभएको प्रष्ट पार्नुभएको छ ।
शुक्रबारबाट राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पूर्वराजासंग राजनीतिक दलहरुको कुनैपनि सम्बन्ध र सम्झौता नभएको स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो-‘संसद पुनः स्थापना गर्ने समयमा पूर्वराजा ज्ञानेन्द्रसंग हाम्रो कुनै पनि सम्झौता भएको छैन् ।’
पूर्वराजा ज्ञानेन्द्रले गत बुधबार साँझ तत्कालीन समयमा दलहरुले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै तत्काल कार्यान्वयन गर्नुपर्छ भनेका थिए ।
पूर्वराजाले यस्तो भनेपछि एमालेका वरिष्ठ नेता नेपालले कुनैपनि सम्झौता नगरेको दावी गर्नुभएको हो । तत्कालीन समयको आन्दोलनको नेतृत्वकर्ता गिरिजाप्रसाद कोइराला र आफू भएको भन्दै पूर्वराजा ज्ञानेन्द्रसंग त्यस्तो कुनै सहमति र सम्झौता नभएको भन्दै नेता नेपालले भ्रममा नपर्न समेत आग्रह गर्नुभयो ।
संविधानसभाबाट जनताको संविधान बनाउने बेला विपक्षी दलहरु सडकमा जान नहुने उहाँको भनाई थियो । नेता नेपालले एमाओवादी नेतृत्वको मोर्चामा सहमतिमा आएर संविधान निर्माण प्रक्रियामा सहभागि हुन समेत आग्रह गर्नुभयो ।
तोकिएको मितिमा संविधान दिन नसक्दा जनतामा निराशा छाएको भन्दै तत्काल संविधान निर्माण कार्यलाई सहमतिबाटै अगाडी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
















प्रतिक्रिया