काठमाडौं, ३० असार । पोखरामा निर्माण हुन लागेको अन्नपूर्ण केवलकारमा लगानी गर्न लागेको राष्ट्रिय बाणिज्य बैकको लगानी जोखिममा पर्ने देखिएको छ ।
पोखरा महानगरपालिका १८ सेतीबगरबाट साराङकोट सम्म निर्माण हुन लागेको केवलकारले स्थानीयसंग समन्वय नै नगरी निर्माण गर्न लागेपछि केवलकार पीडितहरु अदालतको ढोका ढकढक्याउन पुगेका थिए ।
सर्बोच्च अदालतले निर्माणाधीन केवलकार परियोजना तत्काल निर्माण नगर्न उत्प्रेषण आदेश जारी गरेको थियो ।
अदालतले निर्माण कार्य अगाडि नबढाउन आदेश दिएपनि उक्त परियोजनामा लगानी गर्ने तयारीमा रहेको राष्ट्रिय बाणिज्य बैक र नेपाल बंगलादेश बैकले भने लगानी गर्ने प्रकृयालाई अगाडि बढाएको छ ।
केवलकार पीडितहरु गीता भट्टचन, बिनयकुमार तुलाचन र पुनित बैद्यले अदालतमा हालेको मुद्धाको किनारा नै नलाग्दै बैकले परियोजनाले मागेजति रकम दिन लागेपछि बैकको लगानी नै जोखिममा पर्ने अवस्था देखिएको छ ।
बैकको लगानीनै जोखिममा पर्ने गरी लागनी गर्न लागेको राष्ट्रिय बाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठसंग सम्पर्क राख्दा उउनले अहिले उक्त परियोजनामा लगानी गर्ने बिषयमा के भइरहेको छ भन्ने जानकारी नै नरहेको बताए ।
सो कम्पनीले केवलकार निर्माण हुने जग्गासँग जोडिएको भट्टचनको कित्ता नम्वर ७१४, विनयकुमार तुलाचनको १००६ र पुनित वैद्यको कित्ता नम्वर १००५ को जग्गा धनीसँग अनुमति नै नलिई जग्गाको बीच भागबाट आकाशतर्फ केवलकारको प्रशारण लाइन राख्न तार लठ्ठा प्रयोग गरी टावर निर्माण गरेको देखिएकाले अर्को निर्णय नभएसम्म निर्माण कार्य नगर्नु भन्ने अन्तरिम आदेश दिएपछि पनि निर्माण कम्पनीले भने काम अगाडि बढाउनकालागि बैकलाई रकम दिन पटक पटक ताकेता गर्दै आइरहेको छ ।
चर्चित व्यापारी कालु गुरुङले अन्नपूर्ण केवलकार कम्पनीमार्फत निर्माण कार्य अगाडि बढाएका थिए । सुरुमा गुरुङले नै ती जग्गा धनीलाई जग्गाको बीचबाट पोल राखेर प्रशारणलाइन बिस्तार गर्ने र त्यसको उचित मुआब्जा समेत दिने भन्ने निर्माण कार्यमा अवरोध नगर्न अनुरोध गरेपछि सम्पर्कमा नै नआई टावर निर्माणको कामलाई तीव्रता दिएपछि पीडितहरु अदालतको शरणमा पुगेका थिए ।
२ दशमलव ५ किलोमिटर लामो उक्त केवलकारमा जापानी नागरिकको १५ प्रतिशत, स्थानीयको १० प्रतिशत र कालु गुरुङको ७५ प्रतिशत लगानी रहेको छ । १ अर्बको लगानीमा उक्त केवलकार निर्माण हुन लागेको हो ।















प्रतिक्रिया