काठमाडौं, ७ फागुन । नेपाल प्रजातन्त्र सेनानी सङ्घले ६५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा २००७ साल देखि १७ सालसम्मको विभिन्न सङ्घर्ष तथा आन्दोलनमा योगदान पु¥याएका व्यक्तिहरूलाई आज ‘प्रजातन्त्र सेनानी सम्मान’ प्रदान गरेको छ ।
समारोहमा प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउने ७५ जिल्लाका ३४९ जना प्रजातन्त्र सेनानीहरूलाई दोसल्ला र प्रसंशापत्रद्वारा सम्मान गरिएको थियो ।
काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्मानीत सबैलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
उहाँहरूले प्रधानमन्त्री कोइरालासँग भिन्न भिन्न तस्विर समेत खिचाउनुभएको थियो । सङ्घले प्रधानमन्त्री कोइरालालाई समेत प्रजातन्त्र सेनानी सम्मान प्रदान गरेको थियो ।
सङघले ७५ वर्ष भन्दा माथिका प्रजातान्त्रिक योद्धाहरूलाई सम्मान गरेको थियो । सम्मानीतमध्ये सबैभन्दा ज्येष्ठ सदस्य प्रजातन्त्र सेनानी नवलपरासी गैडाकोटका १०३ वर्षीय भूमिप्रसाद सापकोटा रहनुभएको छ, त्यसैगरी काठमाडौँका १०० वर्षीय हेमराज तिमल्सिनालगायत रहनुभएको छ ।
सम्मानीत सबै प्रजातन्त्र सेनानीहरूलाई भोलि शुक्रबार पशुपतिनाथ, बौद्धनाथ र सुन्दरीजलस्थित विपी सङ्ग्राहालयको अवलोकन भ्रमण गराउने कार्यक्रम रहेको प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्मा कँडेलले जानकारी दिनुभयो ।
















प्रतिक्रिया