काठमाडौं । यसवर्षको राष्ट्रिय चलचित्र पुरस्कारमा अभिनेता विपिन कार्की फिल्म ‘प्रसाद’ र अभिनेत्री स्वस्तिमा खडा ‘बुलबुल’ बाट उत्कृष्ट ठहरिएका छन् ।
चलचित्र विकास बोर्डको आयोजनामा शुक्रबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले विधागत उत्कृष्टलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिन् ।
२०७३, २०७४ र २०७५ सालका गरी तीन वर्षको अवार्ड एकसाथ बाँडिएको थियो । उत्कृष्ट फिल्ममा ‘गोपी’ ले बाजी मार्नुका साथै यसै फिल्मबाट कथा र पटकथामा क्रमशः दीपेन्द्र लामा र सामिप्य तिमिल्सेनाले पनि अवार्ड थापेका छन् ।
विनोद पौडेलले ‘बुलबुल’ कै लागि उत्कृष्ट निर्देशनमा राष्ट्रिय पुरस्कार पाउँदा सम्पादनमा निमेष श्रेष्ठ (साइली), छायांकनमा सन्जय लामा (समर लभ) ले विधागत अवार्ड थापेका थिए ।
राष्ट्रिय चलचित्र पुरस्कारमा आदीवासी, जनजाति, मातृभाषी फिल्मतर्फ गुरुङ भाषाको ‘रिजे नासाँ’ उत्कृष्ट ठहरिंदा जुरी प्रोत्साहनबाट फिल्म ‘भोर’ की पूजा कर्णलाई पुरस्कृत गरिएको थियो भने गतवर्षको सर्वाधिक कमाई गर्न सफल फिल्म ‘छक्का पन्जा ३’ लाई फिल्मको व्यापार, विस्तार तथा प्रवर्द्धन सम्मान प्रदान गरिएको थियो ।
पुरस्कृतलाई जनही २५ हजार रुपैयाँ पनि दिइयो । यसैवर्षको दीर्घ साधना सम्मानबाट निर्देशक तुलसी घिमिरेलाई तीन लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रमको शुरुवातमा नेपाली फिल्मको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुलाई समेटेर तयार पारिएको नृत्य प्रस्तुती दिइएको थियो । नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्द प्रभात, कविराज गहतराज र दीपेन्द्र तिमिल्सिनाको निर्देशनमा सरोज खनाल, गौरी मल्ल, शनि रौनियार, दीपाश्री निरौला, पुष्प खडा, दिलिप रायमाझी, रमेश उप्रेती, रेजिना उप्रेती, जीतु नेपाल, केदार घिमिरे, विमला केसी, छुल्ठिम गुरुङ, पवित्रा आचार्य, यशराज गराच, जयकिशन बस्नेत, जाहन्वी बस्नेतलगायतले प्रस्तुती दिएका थिए ।
त्यसैगरी, निर्देशक किशोर रानामगरलाई दीर्घ साधना सम्मान प्रदान गरिएको २०७४ सालमा ‘ब्लाइन्ड रक्स’ ले उत्कृष्ट फिल्मसहित निर्देशनमा मिलन चाम्स र अभिनेत्रीमा बेनिशा हमाललाई अवार्ड दिलायो । पुष्प खडा ‘मंगलम्’ बाट उत्कृष्ट अभिनेता दरिए भने लेखनतर्फ ‘धनपति’ का लागि खगेन्द्र लामिछानेले अवार्ड पाए । सम्पादनमा ‘मंगलम्’ बाटै मित्रदेव गुरुङ र छायांकनमा ‘कृ’ बाट पुरुषोत्तम प्रधान उत्कृष्ट ठहरिएका थिए ।
महिलातर्फको उल्लेखनीय अभिनयका लागि ‘मंगलम्’ बाटै मिथिला शर्माले अवार्ड पाउँदा पुरुषतर्फ ‘शत्रु गते’ मा गरेको अभिनयका लागि रमेशरञ्जन झा पुरस्कृत भएका थिए । शेर्पा भाषाको ‘टिन्छेन फामा’ ले आदीवासी, जनजाती तथा मातृभाषी फिल्मतर्फको अवार्ड जित्यो ।
२०७३ को दीर्घ साधना सम्मान अभिनेत्री सुभद्रा अधिकारीलाई प्रदान गरियो । ‘कालोपोथी’ ले २०७३ कै उत्कृष्ट फिल्मको अवार्ड जित्दा यसैबाट उत्कृष्ट कथामा मीन भाम र पटकथामा अविनाशविक्रम शाहले अवार्ड थापेका थिए । दीपक रौनियारले फिल्म ‘सेतो सूर्य’ का लागि उत्कृष्ट निर्देशक र विपिन कार्कीले ‘जात्रा’ बाट अभिनेता तथा सृजना सुब्बाले ‘डाईङ क्यान्डल’ बाट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेका थिए ।
सम्पादन र छायांकनतर्फ क्रमशः मित्रदेव गुरुङ (जात्रा) र शिवराम श्रेष्ठ (लभ सासा) बाट उत्कृष्ट ठहरिए । आदिवासी, जनजाति तथा मातृभाषी फिल्मतर्फ ‘क्यु प्ह्रो छे’ ले राष्ट्रिय चलचित्र पुरस्कार पाएको हो । ‘छक्का पन्जा’ लाई उत्कृष्ट लोकप्रिय फिल्मको राष्ट्रिय पुरस्कार दिइएको थियो । कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटा, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईसहित फिल्मकर्मीहरुको उपस्थिती थियो ।















प्रतिक्रिया