काठमाडौँ, ७ फागुन । एमालेका अध्यक्ष केपी ओलीले संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिए लोकतन्त्र प्राप्तिको ७५ वर्ष अगाडि सुरु भएको आन्दोलनले सापेक्षिक पूर्णता पाउने बताउनुभएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा अध्यक्ष ओलीले आज दिनुभएको सन्देशमा मुलुक राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवम् राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण बिन्दुमा रहेको भन्दै लोकतान्त्रिक संविधान ल्याउनु नै नेपाललाई समृद्धि प्राप्तिको जीवन उत्सर्ग गर्ने प्रातःस्मरणीय सहिदहरूप्रति साँचो श्रद्धाञ्जलि हुने उल्लेख गरिएको छ ।
उहाँले १०४ वर्षे जहाँनिया राणाशासनलाई समाप्त पारी नेपाललाई प्रजातन्त्र, खुल्लापन र नागरिक शासनको दिशामा उन्मुख गराउने २००७ सालको क्रान्ति एउटा ऐतिहासिक परिघटना भएको स्मरण गर्दै तत्कालीन परिस्थितिमा त्यसका उपलब्धिलाई संस्थागत गर्न र निरन्तरता दिन नसकिएको भए तापनि यसले निर्माण गरेको प्रजातन्त्रको आधारशीला दूरगामी महत्वको थियो भन्नुभयो ।
यस्तै २०४६ को संयुक्त जनआन्दोलनले स्थापना गरेको बहुदलीय व्यवस्था र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र २००७ सालले ल्याएको उन्नत राजनीतिक चेतना र अधिकार प्राप्तिको जगमा आधारित ऐतिहासिक उपलब्धि भएको सन्देशमा उल्लेख छ ।















प्रतिक्रिया