काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले २०६३ वैशाखमा आफू र राजनीतिक दलहरूबीच सहमति र समझदारी भएको दाबी गर्दै शान्ति, स्थायित्व र समृद्धिका लागि त्यसलाई पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन्।
नेपालमा गणतन्त्र घोषणाको ६ वर्षपछि पूर्वराजा शाहले पहिलोपल्ट आफू र तत्कालीन आन्दोलनकारी दलहरूबीच सहमति र समझदारी भएको खुलासा गरेका हुन्।
उनले ६५ औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा सहमतिको सही रूपले कार्यान्वयनमा जोड त दिएका छन् तर के सहमति भएको थियो भन्नेचाहिँ खुलाएका छैनन्।
सन्देशमा उल्लेख छ, ‘तत्कालीन राजनीतिक दलहरू र मेराबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएको छ । तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रूपले कार्यान्वयनमा ल्याई मुलुकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनीत दिवसको सार्थकता रहन्छ।’
पूर्वराजाले सन्देशमार्फत गरेको रहस्योद्घाटनबारे कांग्रेस नेता अर्जुननरसिंह केसीले जनआन्दोलनका नेता एवं पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग कुनै सहमति भएको जानकारी आफूलाई नभएको बताएअन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
‘पहिले र अहिले पनि दलका नेताहरूमा सहमति गर्ने तर त्यसको पालना नगर्ने प्रवृत्ति छ। मेरै पार्टीका नेताहरूसँग पनि त्यो समस्या छ, म पनि भुक्तभोगी हुँ’, उनले भने, ‘सहमति जसले जोसँग गरेको भए पनि त्यसको सम्मान हुनुपर्छ। लोकतन्त्रको संरक्षण र संस्थागत विकासका निम्ति सहमति भएको छ भने त्यसमा पनि इमानदार हुनैपर्छ।’
पूर्वराजाको सन्देशमा ‘६४ वर्षअघि प्रजातन्त्रप्रेमी जनता र राजाको समन्वयकारी सत्प्रयासबाट नेपाली जमिन र जनजीवनमा प्रजातन्त्रको बीजारोपण भएको’ उल्लेख गर्दै आफ्ना हजुरबा राजा त्रिभुवन र जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ।
‘प्रजातन्त्र राष्ट्रको अलंकार हो र जनताजनार्दनको भाग्य भविष्यको आधार हो। राज्य सञ्चालन र विधि व्यवस्थापनका निम्ति चाहिने मुख्य विषय आपसी सुझबुझ, समझदारी र अनुभवयुक्त प्रयत्न हो’, सन्देशमा लेखिएको छ।
वर्तमान राजनीतिक दलहरूबीच चलिरहेको द्वन्द्व र आफूलाई पनि निषेध गरेकातर्फ संकेत गर्दै उनको सन्देशमा लेखिएको छ, ‘निषेध, विभेद, अन्योल, अलमल र कचिंगलमै समय बिताउनुभन्दा राष्ट्रको भूबनोट, राष्ट्रिय समाजको स्वरूप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सही दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो।’
उनले ६४ वर्षअघि हजुरबुबा र २०६३ वैशाखमा आफूले ‘गरे गराएको कार्यविधि पनि प्रजातन्त्र र त्यसको आधार राष्ट्रियता बलियो बनाउने कार्य कदम’ भएको दाबी गरेका छन्।















प्रतिक्रिया