
काठमाडौँ, १६ असार । देशको ग्रामीण तहसम्म बैंकिङ पहुँच पुर्याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यअनुसार जनता बैंक नेपाल लिमिटेडले आज एकैसाथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौँ उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार सुभारम्भ गरिएको हो भने काठमाडौँ उपत्यकाबाहिरमा बाग्लुङ्ग बजार, कपिलवस्तुको तौलिहवा र धनगढीको सेतो पुलमा नयाँ शाखा खोलिएको हो ।

तौलिहवा शाखाको उद्घाटन संघीय संसदका सांसद बृजेशकुमार गुप्ताले गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको समेत उपस्थिति रहेको उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले बैंकको बारेमा प्रकाश पारेका थिए ।
यसैगरी काठमाडौँ उपत्यकामा रहेका काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर केसी, बनस्थली खरिबोट शाखाको संचालक गौतमप्रसाद खनालले उद्घाटन गरे । यस्तै, थानकोट शाखाको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनितकुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरे ।

साथै, सेतोपुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बैंकका चिफबिजनेस अफिसर कल्याण पाँडेले संयुक्त रुपमा उद्घाटन गरे ।
यस्तै, बाग्लुङ्ग शाखाको बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष युवराजजङ्ग राजभण्डारीले उद्घाटन गरे । बाग्लुङ्ग शाखा उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यको उपस्थिति रहेको थियो ।
नयाँ खोलिएका शाखाहरुबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराइने छ ।

आज उद्घाटन भएका शाखाहरु समेत जनता बैंकको शाखा सञ्जाल पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १ सय ४१ पुगेको छ भने काठमाडौँ उपत्यकामा २३ शाखा रहेका छन् ।
यससँगै जनता बैंक शाखा सञ्जालको हिसाबले निजी क्षेत्रको वाणिज्य बैंकहरुमध्ये चौथो ठूलो बैंकको रुपमा स्थापित भएको छ भने समग्रमा सातौँ ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।
यी शाखाहरुका अतिरिक्त बैंकले ५० शाखारहित बैंकिङ, १ सीमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १ सय ५ एटीएमहरुमार्फत उच्चस्तरीय बैंकिङ सेवा पुर्याउँदै आइरहेको छ ।

















प्रतिक्रिया