– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, ६ फागुन । सिकल सेल एनिमिया रोगबाट मध्यपश्चिममा पाँच जनाको मृत्यु भएको छ । सिकल सेल एनिमिया तथा रक्त कोष सम्बन्धी रोगहरु सम्बन्धमा बहुनिकायबीच अन्तरक्रिया कार्यक्रममा भेरी र सेती अंचल अस्पतालमा कार्यरत चिकित्सकले उक्त जानकारी दिएका हुन् ।
कार्यक्रममा भेरी अंचल अस्पतालका फिजिसियन डा. राजन पाण्डेले बाँकेको एक, र दाङका एकजनाको मृत्यु भएको जानकारी दिए । उनले मृत्यू हुनेमा सबै थारु समुदायका रहेको जानकारी दिए । सेती अंचल अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. सुभेषराज कायस्थले सिकल सेल रोगका कारण कैलालीमा तीन जनाको मृत्यु भइसकेको बताए । उनले पनि मृत्यु भएकाहरु सबै थारु समुदायका भएको बताए । सेती अंचल अस्पतालमा डायग्नोसिस गर्दा ५० जना विरामी फेला परेको डा. कायस्थले बताए ।
थारु समुदायका नागरिकमा सिकल सेल बढि देखिए पनि अन्य समुदायमा पनि देखिन थालेको फिजिसियन डा. पाण्डेले बताए । गत साउनदेखि मंसिरसम्म भेरी अंचल अस्पतालमा ६० जना सिकल सेलका विरामी अस्पतालमा भर्ना भएको बताउँदै उनले सिकल सेल बारे जानकारी नभएका कारण विरामीहरु आउने संख्या कम भएको बताए ।
‘गाउँ–गाउँमा सिकल सेलका विरामी भए पनि लक्ष्यणका बारेमा जानकारी नहुँदा अस्पतालसम्म आउन सकेका छैनन्’–उनले भने–‘यसका लक्ष्यणका बारेमा यथेष्ट जानकारी गराउनसके अझ धेरै विरामी उपचारका लागि आउने देखिन्छ ।’
सिकल सेलका विरामीमा हाडजोर्नी दुख्ने, कम्जोरी महशुस हुने, हाडजोर्नी दुखेपछि विरामी थला पर्ने, बालबालिकामा निमोनियाको संकेत देखिने जस्ता लक्ष्यण देखिने डा. पाण्डेले जानकारी दिए । ‘नवजात शिशुमा यसको लक्ष्यण देखिनु भनेको निमोनियाको जस्तो संकेत देखिनु हो’–फिजिसियन डा. पाण्डेले भने–‘निमोनियाको संकेत देखिएर नवजात शिशु मरेको जस्तो हामीलाई लाग्छ तर, निमोनियाका कारण नभई सिकल सेलका कारण मरेको देखिन्छ ।’
सिकल सेल बंशानुगत रोग भएको बताउँदै उनले चिना जुराएर विवाह गर्नुभन्दा बर र कन्याको सिकल जाँच गराउनुपर्ने उनले सुझाव दिए । श्रीमान श्रीमतिमा सिकल सेल भए बच्चामा सर्ने सम्भावना दुई गुणा भएको चिकित्सकले बताएका छन् । त्यसैले विवाह गर्नुअघि सिकल सेल जाँच गराउन जरुरी छ ।
– सिकल सेल रोगको पश्चिम नेपालमा चर्चा
सिकल सेल एनिमियाका बारेमा गलत प्रचार गरेको भन्दै समाचार लेख्ने पत्रकारमाथि खनिनेहरु अव यो रोगको बारेमा चासो राख्न थालेका छन् । सिकल सेल रोगको बारेमा चिकित्सकले विभिन्न चरणमा गरेका अनुसन्धानलाई समाचार मार्फत सरकारको ध्यान आकर्षण गराइएपछि यसको वहस र छलफल हुन थालेको हो ।
व्यवस्थापिका संसदले समेत चासो लिएपछि स्वास्थ्य मन्त्रालयले रोग निवारण, रोकथाम, उपचार र जाँचका लागि विशेष पहल थालेको छ । मन्त्रालयले रुपन्देहीदेखि पश्चिम तराईका जिल्लामा रहेका अंचल अस्पतालमा सिकल सेलको निशुल्क उपचार गर्ने नीति समेत बनाएको छ । यहि नीति कार्यान्वयन गर्न बुधवार नेपालगन्जमा सिकल सेल एनिमिया तथा रक्त कोष सम्बन्धि रोगहरु सम्बन्धमा बहुनिकाय वीच अन्तरक्रिया कार्यक्रममा भएको छ ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य मन्त्रालय एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै महाशाखाका निर्देशक बाबुराम मरासिनीले वजेट विनियोजन नभएका कारण सिकल सेलको क्षेत्रमा काम गर्न नसकिएको बताए । उनले पश्चिम तराईका जिल्लामा ठूलो समस्याको रुपमा देखिएको बताउँदै अव विशेष अभियान बनाएर कार्यक्रम संचालन गर्ने आश्वासन दिए ।
स्वास्थ्य चौंकीका स्वास्थ्यकर्मीलाई समेत जानकारी नभएको उल्लेख गर्दै उनले भने–‘एमविविएस अध्ययनका क्रममा समेत यसको विषयबस्तु एकदमै थोरै छ भने एचए, सिएमएका कोर्षमा झनै छैन । त्यसैले स्वास्थ्य चौंकीमा कार्यरत स्वास्थ्यकर्मीका लागि तालिमको ब्यवस्था गर्न जरुरी देखिएका छ ।’
स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारीले सिकल सेलका विरामीका लागि तराईका अस्पतालमा निःशुल्क उपचारको ब्यवस्था गरिएको बताए । उनले विरामीलाई उपचारका लागि एक लाख रुपैयाँसम्म सहयोग गर्न सकिने भन्दै विरामीको प्रकृति हेरेर उपचारमा सहयोग गर्न सकिने जानकारी दिए ।
भेरी अंचल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्वर सुवेदीले विरामीको संख्या बढ्दै गए पनि वेड र रकम अभावका कारण सिकल सेल डायग्नोसिस र उपचारमा समस्या भएको बताए । उनले सिकल सेलका विरामीका लागि छुट्टै वार्ड आवश्यक भएको बताए ।
ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) का कार्यकारी निर्देशक चूर्ण बहादुर चौधरीले थारु समुदायमा मात्र सिकल सले भएको गलत भ्रम फैलाइएको बताए । ‘अन्य समुदाय पनि सिकल सेलबाट प्रभावित छन् । थारु समुदायमा धेरै देखिएको मात्र हो’–उनले भने ।
उनले अन्य समुदायमा पनि यो रोगको समस्या देखिएको बताए । सिकल सेलको बारेमा सचेतना दिन, उपचार र डायग्नोसिसका लागि बेसले काम गर्ने योजना बनाएको बताउँदै उनले भ्रम चिर्न सहि सूचना आवश्यक भएको बताए । उनले भने–‘बेसले गाउँ–गाउँमा सचेतना, रोगको लक्ष्यण, निदान, उपचार, ल्याब जाँच लगायतका विषयमा सर्वसाधारण विरामीलाई सहयोग गर्ने योजना बनाएको छ ।’
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीले सिकल सेलका बारेमा बहस, छलफल र अन्तरक्रियाको सुरुवात हुनु सकारात्मक पक्ष भएको बताए । जानकारी नभएका कारण सर्वसाधारणमा भ्रम सिर्जना भएको बताउँदै उनले सहि र यथार्थ सूचनाका लागि राज्यले पहल गर्नुपर्ने बताए ।
















प्रतिक्रिया