मुम्बई । अमरिश पुरी बलिउडको यस्तो नाम हो, जो अभिनेता बन्न आएका थिए तर खलनायकको रुपमा आफ्नो छुट्टै पहिचान बनाए ।
सन् १९३२ जुन २२ मा पाकिस्तानको लाहोरमा जन्मिएका अमरिश पुरी सन् २००५ जनवरी १२ मा दुनियाँबाट अलबिदा भएका थिए । तर खलनायकको रुपमा उनले निभाएको भूमिका आजसम्म पनि भुल्न सकिँदैन ।
‘मोगेम्बो’ को नामबाट पहिचान बनाउने अमरिश पुरी एक मात्र बलिउडका यस्ता खलनायक हुन्, जसलाई आजसम्म कसैले टक्कर दिन सकेका छैनन् ।
उनले झण्डै चार सय चलचित्रमा काम गरेका छन् । कुनै चलचित्रमा जिद्दी पिताको भूमिका निभाएका उनले कुनै चलचित्रमा खतरनाक खलनायकसम्म बने । अमरिश पुरीले कैयौँ भूमिका निर्वाह गरे तर केही यस्ता भूमिका छन्, जुन आजसम्म पनि सबैको मानसपटलमा छाएको छ ।
सन् १९८७ मा प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर इण्डिया’ मा उनको मोगेम्बो को भूमिका अहिलेसम्म पनि उत्तिकै ताजा छ । यही चलचित्रको डायलग ‘मोगेम्बो खुश हुआ’ आज पनि उत्तिकै चर्चित छ । सन् १९८६ मा प्रदर्शनमा आएको चलचित्र ‘नागिना’मा उनको डायलग ‘अलक निरंजन बोलत’ पनि निकै चर्चित छ ।
शाहरुख खान र सलमान खानको चलचित्र ‘करण–अर्जुन’मा अमरिश पुरीको खलनायकको भूमिका दुवै अभिनेतामाथि भारी भएको थियो । चलचित्रमा ठाकुर दुर्जन सिंहको भूमिका निकै दमदार थियो ।
सन् १९८७ मा प्रदर्शनमा आएको चलचित्र ‘लोहा’मा अमरिश पुरीको फिल्मी करियरको सबैभन्दा खतरनाक भूमिका मानिन्छ । यो चलचित्रमा उनको अभिनय मात्र नभई उनको लुक्स पनि निकै डरलाग्दो थियो ।
राकेश रोशनको निर्देशनमा बनेको र सन् १९९७ मा प्रदर्शनमा आएको चलचित्र ‘कोयला’मा अमरिश पुरीको राजा साहबको भूमिका अझै दमदार छ ।
सन् २००१ मा प्रदर्शनमा आएको चलचित्र ‘नायक’ मा अमरिशले मुख्यमन्त्रीको भूमिका निभाएका थिए । यो चरित्र पनि निकै चर्चित भएको थियो । अमीषा पटेल र सन्नी देओलको चलचित्र ‘गदरः एक प्रेम कथा’मा अमरिश पुरीको भूमिका सम्झनलायक थियो ।















प्रतिक्रिया