
काठमाडाैँ, १३ असार । कोरियन भाषासम्बन्धी इम्प्लोयमेन्ट पर्मिट सिस्टम (ईपीएस) परीक्षाको नतिजा दक्षिण कोरियामा प्रकाशित भएको छ । परीक्षा गएको जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो ।
परीक्षामा ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये २० जनाको भने प्रक्रिया नपुगेकोले सुरुमा नै रद्द भएको थियो । परीक्षामा सहभागी भएका मध्ये १२ हजार १० जना उत्तीर्ण भएको जनाइएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले परीक्षाफल प्रकाशित भएको जानकारी दिँदै पूर्ण विवरण भने आइननसकेको जनाए ।
‘कोरियाको मानव संशाधन विभागले कोरियाली भाषा परीक्षाको परीक्षाफल सार्वजनिक गरे पनि इपिएस शाखालाई भने केही पनि विवरण प्राप्त भइसकेको छैन, कोरियाले नतिजा पठाएपछि हामी सार्वजनिक गर्छौं,’ उनले भने।
दक्षिण कोरियाले यस वर्ष १० हजार ५० कामदार लैजाने निर्णय गरेको छ। जसमध्ये उत्पादनमूलक कामका लागि ७ हजार ५० र कृषिका लागि ३ हजार कामदार लैजाने उल्लेख गरिएको इपिएस शाखाले जानकारी दिएको छ।
कोरिया सरकारले इपिएस अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ।
दुई सरकारका बीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन् । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा ४ लाख ८३ हजारभन्दा बढी युवाहरुले सहभागिता जनाइसकेका छन् ।
हालसम्म कोरियामा ५८ हजार बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन् । नेपाली युवाहरूका लागि कोरिया निकै महत्वपूर्ण रोजगारीको गन्तव्य मुलुक बन्दै आएको छ ।
इपिएस शाखाले सार्वजनिक गरेपछि भने परीक्षाको नतिजा http://www.epsnepal.gov.np र वैदेशिक रोजगार विभागको वेबसाइट http://www.dofe.gov.np मार्फत पनि हेर्न सकिनेछ। साथै, http://eps.hrdkorea. मा गएर पनि नजिता हेर्न सकिनेछ ।















प्रतिक्रिया