काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले प्रतिपक्षी दलहरुलाई संविधान निर्माण प्रक्रियामा सहभागि हुन् आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै राजनीतिक संक्रमणको अन्त्य गरी मिलेर संविधान निर्माण गर्न आग्रह गर्नुभएको हो ।
उहाँले मुलुक सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीको ऐतिहासिक रुपान्तरणको चरणमा रहेको तथा लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न चाँडोभन्दा चाँडो संविधानसभाबाट संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल विश्व सम्बन्ध परिषद्को ६७ औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले संविधान जारी भएसँगै विविध समुदाय, भाषा तथा संस्कृतिको पहिचान, समानता तथा समावेशितासम्बन्धी विषय सम्बोधन हुने बताउनुभयो ।
संविधानसभा प्रारम्भ भएको एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी गर्ने सबै राजनीतिक दलको प्रतिबद्धता दलीय सहमति कायम नहुँदा त्यो पूरा हुन नसकेको बताउँदै प्रधानमन्त्री कोइरालाले अब पनि संविधान जारी गर्न ढिलो भएमा लोकतन्त्रका उपलब्धिसमेत जोखिममा परी समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा कठिनाई हुने उल्लेख गर्नुभयो ।
राष्ट्रिय सुरक्षा र परराष्ट्रनीति जस्ता राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय एकता र सहमति गर्नुपर्ने आवश्यता औँल्याउँदै उहाँले वर्तमान राजनीतिक सङ्क्रमणलाई अन्त्य गर्न विगतका सम्झौता, अन्तरिम संविधान र प्रतिबद्धतालाई आधार मानेर साझा मिलनबिन्दु पहिल्याउनुपर्ने बताउनुभयो ।
“प्रजातान्त्रिक बहुलबादसहितको राष्ट्रिय एकता र मेलमिलाप भएमा नेपालले जस्तासुकै चुनौतीे पनि सामना गरी शान्तिपूर्ण, स्थिर, लोकतान्त्रिक र समृद्ध नेपालको यात्रा अगाडि बढाउन सक्ने भएकाले त्यसतर्फ प्रतिबद्ध भएर लाग्नुपर्छ,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “यो सत्य हो, हामी राष्ट्रियरुपमा एकीकृत हुन नसक्दा क्षेत्रीय तथा विश्व मामिलामा प्रभावकारी भूमिका निर्वाह गर्न असमर्थ भएका छौँ ।”
आफू प्रजातन्त्रमा विश्वास राख्ने व्यक्ति भएकाले वार्ता र संवादका माध्यमबाट आपसी मतभेद अन्त्य गर्न चाहेको स्पष्ट पार्दै उहाँले आठ वर्ष अघिदेखि शुरु भएको शान्ति प्रक्रियारुपी जहाजलाई अवतरण गर्नका लागि छिमेकी र सुभेच्छुक मित्रराष्ट्रहरुबाट थप सहयोग र सद्भावको अपेक्षा गरेको पनि बताउनुभयो ।
पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न परराष्ट्रनीति, विश्वशान्तिसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र मान्यतालाई मार्गदर्शक सिद्धान्तका रुपमा नेपालले अङ्गीकार गर्दै आएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्री कोइरालाले नेपालको परराष्ट्र नीतिको प्राथमिकता भारत र चीन रहेका बताउनुभयो ।
भारत र चीनसँगको सम्बन्धले नेपालसहित तीनवटै मुलुक लाभान्वित हुने, त्यसले भावी सहकार्यको मार्गचित्र तयार गर्ने विचार व्यक्त गर्दै उहाँले भारतसँगको नेपालको सम्बन्ध अनुपम रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो–“खुला सीमाना, सामाजिक –सांस्कृतिक समानताले दुई देशबीचको सम्बन्धलाई प्रगाढ तुल्याएको छ ।”
















प्रतिक्रिया