
-महेश सिंह महतो
सिरहा, ९ असार । लहानबाट करिब १० किलोमिटर दक्षिण पर्ने महेशबारी प्रहरीको हिरासतमा रहेकी सुमनदेवी ठाकुरको मृत्यु भएको छ ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतको शौचालयमा सुमनदेवी ठाकुर आइतबार बिहान झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी हुन् ।
उनी मोबाइल चाेरीको आराेपमा शनिबार साँझ लबहान बजारबाट पक्राउ गरेकी थिइन् । हिरातसतमा झुण्डिएर महिलाको मृत्यु भएपछि आइतबार बिहान प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीसहित इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजाल, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव, उपाध्यक्ष अमलादेवी यादव, वडाध्यक्षहरु महेशबारी प्रहरी कार्यालयमा पुगेका थिए ।
ठाकुरको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पातल लगिएको छ । लहान प्रहरीको हिरासतमा ठाउँ अपुग भएपछि महिला प्रहरीसहित बैंकिङ कसुर आरोप लागेकी महिलासँगै ठाकुरलाई पनि महेशबारी प्रहरीमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरी हिरासतमा अर्की महिलासँगै सुतेकी ठाकुर बिहान करिब ६ बजेतिर उठेपछि शौचालय जान्छु भन्दै गएको करिब २० मिनेटसम्म पनि नफर्किएपछि महिला प्रहरी गएर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर घर भएकी २५ वर्षीया ठाकुरले पहिलो पतिसँग सम्बन्धविच्छेद गरी स्थानीय लक्ष्मण ठाकुरसँग करिब पाँच वर्षअघि दोस्रो विवाह गरेकी थिइन् । पहिलो पतिपट्टि एक छोरा भएपनि बाबुसँगै बस्दै आएका छन् ।
लहानस्थित एक मोवाइल बिक्री गर्ने पसलमा मोबाइल चाेरी गर्ने क्रममा लहान प्रहरीले ठाकुरलाई शनिबार साँझ करिब ५ बजेतिर पक्राउ गरेका थिए ।
पक्राउ परेलगत्तै लहान प्रहरीको हिरासतमा पुर्याइएकी ठाकुर र बैंकिङ कसुरको मुद्दामा काठमाडौंमा पक्राउ गरी लहान ल्याइएकी अर्की महिलासँगै राखिएको थियो ।












प्रतिक्रिया