
दार्चुला, ८ असार । अपि हिमाल गाउँपालिका–५ का लुम्थी र साउगन्ना गाउँमा एक घर एक खानेपानीका धारा निर्माण गरिएको छ । वर्षौदेखि खानेपानी समस्या भोग्दै आएका उक्त गाउँका स्थानीयका लागि घरघरमा खानेपानीका धारा निर्माण गरिएको हो ।
दुवै गाउँमा गरी एक सय पाँच घरमा खानेपानीका धारा तथा भाँडा सुकाउने चाङ निर्माण गरिएका छन् । लुम्थीपन्यार खानेपानी उपभोक्ता समितिका अध्यक्ष जयभानसिह धामीका अनुसार हरेक घर अगाडि खानेपानीका धारामा भाँडा सफा गरेपछि त्यहि चाङमा सुकाउने व्यवस्था गरिएको छ ।
उहाँले भन्नुभयो, “वस्ती पूरै सफाइ हुँदै गएको छ, हरेक घरमा खानेपानीका धारा बनाइएपछि धारा तथा सरसफाइमा ध्यान दिइएको छ, साउगन्नामा वस्तीको नाम नै परिवर्तन गरी फुलबारी टोल कायम गरिएको छ, हिँड्न बाटो वरिपरि फुल रोपिएका छन् र धाराबाट गएको पानी तरकारीबारीमा लगाइएको छ ।”
पानीको बहुउपयोग गरिएको उहाँले बताउनुभयो । विगतमा आधा घण्टा लगाएर टाढाको पानी बोक्न जानुपर्ने बाध्यता हटेको स्थानीय निर्मला ठगुन्नाले बताउनुभयो । “अहिले आफ्नै घर आगनमा व्यक्तिगत रुपमा धारा बनेपछि सबै खुशी छौँ, कहिल्यै यस्तो धारा गाउँमा आउँला सोचेका थएिनौँ”, उहाँले भन्नुभयो ।
लुम्थी वस्तीमा ४८ व्यक्तिगत र दुईवटा सार्वजनिक स्थानमा खानेपानी धारा निर्माण गरिएका छन् । लुम्थीमा खानेपानीका धारा निर्माणका लागि जलस्रोत विकास कोषबाट रु २१ लाख ५४ हजार, नेपाल सरकारबाट रु सात लाख ७४ हजार, फिनल्याण्ड सरकार युरोपियन युनियनबाट रु आठ लाख पाँच हजार र अपि हिमाल गाउँपालिकाको रु पाँच लाख ७४ हजार लागतमा खानेपानी योजना बनेको बताइएको छ । उक्त योजनामा जनश्रमदानबाफत रु सात लाख १८ हजार लागत खर्च लागेको छ ।
यस्तै सौगन्नामा तिम्ला चौलानी खानेपानी योजनाअन्तर्गत ५३ व्यक्तिगत र दुई वटा सार्वजनिक स्थानमा खानेपानी धारा निर्माण गरिएका छन् । त्यसमा नेपाल सरकारको रु १३ लाख १४ हजार, फिनल्याण्ड सरकारको रु १३ लाख ६८ हजार गाउँपालिकाको रु नौ लाख ७५ हजार र जनश्रमदानबाट रु १२ लाख १९ हजार लागतमा योजना निर्माण सम्पन्न गरिएको छ ।
विगतमा मकै, गहुँ मात्रै लगाउने किसानले तरकारी, फलफूल जस्ता नगदेबाली लगाउन थालेका छन् । जिल्ला समन्वय समिति प्रमुख करबीरबहादुर कार्कीले हरेक काममा महिलालाई समस्या हुने गरेको अहिलेको अवस्थामा अपि हिमालका बासिन्दाका लागि खुशी दिन शुरु गरिएको बताउनुभयो । विकट वस्तीमा पुगेर शहरको भन्दा राम्रा धारा बनेका उहाँले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले चुनावको बेला जनतासँग गरेका बाँचा पूरा हुँदै गएका बताउनुभयो । “स्थानीय चुनाव आउँदा यहाँ खानेपानीको निकै समस्या थियो, खानेपानीकै समस्या देखेर ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना आएपछि पहिलो प्राथमिकतामा लुम्थी र साउगन्ना गाउँमा नमूनाको रुपमा खानेपानी योजना सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।
सहयोगी संस्था समाज कल्याण समाजका अध्यक्ष रघुबीरसिह ठगुन्नाले छोटो समयमै वडा नम्बर ५ का दुई गाउँका घर–घरमा खानेपानी पुगेकामा खुशी व्यक्त गर्नुभयो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला जलस्रोत सल्लाहकार लवराज पन्तले स्थानीय सरकारको प्राथमिकताअनुसार खानेपानी पहिलो चरणमा निर्माण गरिएको बताउनुभयो । निकट भविष्यमै वडा नम्बर ३ र ४ का वस्ती समेट्ने गरी वृहत कुरुमल खानेपानी योजना निर्माण गरिने गाउँपालिकाले जनाएको छ । –रासस












प्रतिक्रिया