
काठमाडौं, ६ असार । देशको पछिल्लो राजनीति तथा पार्टी र सरकार सञ्चालनमा देखिएको मत भिन्नताका विषय समाधानको उपाय खोज्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच आज पनि छलफल भएको छ ।
शुक्रबार ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू छलफल भोलि बस्ने सचिवालय बैठकको एजेण्डा बनाउन केन्द्रीत छ ।
खासगरी पार्टी र सरकार सञ्चालनमा देखिएको असन्तुष्टि, केन्द्रीय सदस्यको कार्यभाजनलगायत विषयमा पहिले दुई अध्यक्षले ठोस योजना बनाउने र त्यसलाई छलफलका लागि सचिवालयमा पेश गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ ।
यसअघिको अध्यक्षद्धयबीचको छलफलले राजनीतिक दस्तावेज तयार गर्ने निर्णय गरेको थियो ।
पछिल्लो समय नेकपाका दोस्रो वरियताका नेताहरू नै पार्टीको अबको नीतिबारे विभाजित छन् ।
विशेषतः पूर्वएमालेका पनि ओली खेमाका मानिने नेताले जनताको बहुदलीय जनवादलाई एकीकृत नयाँ पार्टीले कुनै पनि हालतमा छोड्न नहुने बताउँदै आएका छन् ।
सचिवालयभित्रै पनि प्रधानमन्त्री ओली, सदस्यहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल जनताको बहुदलीय जनवादको प्रतिविम्व नयाँ राजनीतिक दस्तावेजमा पनि होस् भन्ने चाहन्छन् । उनीहरूको यही चाहनाका कारण नेताहरूबीच व्यापक मतभेद भएपछि सचिवालयमा पेस भएको लामो समयसम्म राजनीतिक दस्तावेज सार्वजनिक हुन सकेको छैन ।
सचिवालय सदस्यहरूले नै जबजको लबिङ तल्लो तहसम्म थालेपछि झस्किएका प्रचण्डले पनि विभिन्न फोरमहरूमा अहिलेका लागि पार्टीको सिद्धान्त जनताको जनवाद हुने र कालन्तरमा त्यसलाई वैज्ञानिक समाजवादमा रूपान्तरण गर्ने गरी जानु पर्ने बताउँदै आएका छन् ।
राजनीतिक दस्तावेजमा पूर्ववर्ती एमालेले पार्टी सिद्धान्त मानेको जनताको बहुदलीय जनवाद र पूर्वमाओवादी केन्द्रले मान्दै आएको एक्काइसौं शताब्दीको जनवादलाई फ्युजन गराएर जनताको जनवादको रूपमा नयाँ ढंगले अघि बढ्ने र वैज्ञानिक समाजवादलाई लक्ष्य बनाउने उल्लेख छ ।
यस्तै पार्टीको एकता महाधिवेशनसम्म सहमति र समझदारीकै आधारमा पार्टीको नेतृत्व अघि बढ्ने त्यसपछि कार्यकर्ताबाटै पारित नीति, मुल्य र मान्यतालाई अवलम्बन गरेर अघि बढ्नु पर्ने पनि राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
उनले सरकार र पार्टी नेतृत्वको कार्यशैलीका कारण कार्यकर्ता र जनस्तरमा देखिएको निराशालाई सम्बोधन गर्ने गरी निर्णय गर्नु पर्ने बताए ।












प्रतिक्रिया