काठमाडौंँ, ५ फागुन । राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलबीचको सहमतिमा देशमा चाँडै संविधान जारी होस भन्ने कामना गर्नुभएको छ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनपछि पत्रकारको जिज्ञासामा उहाँले आफूले दलीय सहमतिमा मुलुकमा शीघ्र संविधान बनेर राष्ट्र प्रगतिको मार्गमा अग्रसर होस भन्ने प्रार्थना पशुपतिनाथसँग गरेको बताउनुभयो ।
दलबीच चाँडो संवाद सुरु हुनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले संविधानसभामा प्रतिनिधित्व गरेका र बाहिर रहेका सबै राजनीतिक दलबीच मेलमिलाप भएमा संविधान निर्माण गर्न कठिन नहुने बताउनुभयो ।
धार्मिक सहिष्णुताको पर्वका रुपमा देशभरका शिवालयमा पूजाआराधनाका साथ समेत मनाइने महाशिवरात्रिमा राष्ट्राध्यक्षबाट आराध्यदेव पशुपतिनाथको पूजा गरिने प्राचीन परम्परा छ ।
दर्शनका लािग राष्ट्रपति डा यादव पशुपतिनाथ मन्दिर परिसर पुग्दा उहाँलाई महाशिवरात्रि मूल आयोजक समितिका साथै पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।
यसैबीच महाशिवरात्रीका अवसरमा पशुपतिमा १० लाख दर्शनार्थीले दर्शन गरेको पशुपति विकास कोषले जनाएको छ । यो गतवर्ष भन्दा बढी हो ।















प्रतिक्रिया