२ कार्तिक २०८३, सोमबार

हेर्दाहेर्दै खरानी भयो सात सय वर्ष पुरानो लाप्राङ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ५ फागुन । गोरखा सदरमुकामदेखि ५२ कोश टाढाको दुरीमा रहेको सात सय वर्ष पुरानो लाप्राङ हेर्दाहेर्दै जलरे खरानी भएको छ । उत्तरी गोरखाको सामागाउँ गाविस–६ मा रहेको सात सय वर्ष पुरानो लाप्राङ गुम्बा जलेर नष्ट भएको हो ।

गुम्बाभित्र बालेको टुकी ढलेपछि सल्केको आगोले गुम्बा जलेर खरानी भएको स्थानीय बासिन्दा मिङमार छिरिङ लामाले जानकारी दिनुभयो । गएराति करिब ११ बजेतिर गुम्बामा आगो लागेको थियो । स्थानीय बासिन्दाले आज बिहान ३ बजेतिरमात्रै गुम्बा जलेको थाहा पाएका थिए ।

“गुम्बा जलेको थाहा पाएपछि गाउँले सबै भेला भए । केही गरे पनि गुम्बामा दन्केको आगो निभाउन सकिएन”, लामाले टेलिफोनमा भन्नुभयो, “हिउँ जमेकाले गुम्बाको छानो जलेको छैन ।” गुम्बाभित्र रहेका बुद्धका मूर्ति, चाँदीका सिक्का, नगद पैसा, हीरा, लत्ताकपडा र काठ जलेर नष्ट भएको लामाको भनाइ छ ।

“पुरातात्विक महत्वको गुम्बाभित्र धेरै वर्ष पुराना किताब थिए,” लामाले भन्नुभयो, “बुद्ध धर्मसम्बन्धी महत्वपूर्ण दर्जनभन्दा बढी किताब जलेर खरानी भएका छन् ।” हिउँ परेकाले गुम्बामा सल्केको आगो निभाउने पानी नपाएको उहाँले बताउनु भयो ।

“जताततै हिउँ परेको छ” उहाँले भन्नुभयो, “हिउँले आगो निभेन । पानी ल्याउन सकिएन ।” गुम्बा पूर्णरुपमा जलेको सामागाउँ प्रहरी चौकीले पनि जनाएको छ । तत्कालीन मुख्य लामा टासी दोर्जेको नाममा रहेको गुम्बा जलेको हो ।