४ कार्तिक २०८३, बुधबार

न्युरोडमा स्मार्ट पार्किङ सुरु, मोबाइलबाटै बुक गर्न सकिने

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १ असार । आजदेखि काठमाडौंको न्युरोडमा मोबाइलबाटै पार्किङ स्थल बुकिङ गर्न सकिने भएको छ। काठमाडौं महानगरपालिकाले ह्विल्स ट्रली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडका पाँच स्थानमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज बिहान विशेष समारोहमा स्मार्ट पार्किङको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले स्मार्ट पार्किङबाट महानगरमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रलीले पहिलो चरणमा विशाल बजार र धर्मपथमा यो सेवा उपलब्ध रहेको जनाएको छ । त्यसपछि क्रमशः न्यूरोडको प्यूखा, खिचापोखरी, पाको र दरबारमार्गमा उपलब्ध हुनेछ ।

तीन महिनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रलीका अनुसार उपलब्ध स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ क्षमता रहेको छ ।

अहिले महानगरभित्र जथाभावी पार्किङ गरिँदा सवारी जामलगायतका विभिन्न समस्या हुने गरेको भन्दै मेयर शाक्यले यो व्यवस्थासँगै अब न्यूरोड क्षेत्रमा सहज रुपमा पार्किङको सुविधा लिन सकिने बताए ।

शाक्यले निकट भविष्यमै स्मार्टपार्किङ अन्य स्थानमा पनि विस्तार गरिँदै लैजाने सो क्रममा बताए । महानगरलाई व्यवस्थित बनाउन आफू प्रयासरत रहेको बताउँदै शाक्यले स्मार्ट पार्किङपनि यही अभियानको एउटा हिस्सा भएको बताए ।

स्मार्ट पार्किङको लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्नुपर्छ । एपले पार्किङ स्पेस भए नभएको जानकारी दिएसँगै एपबाटै आफूलाई आवश्यक ठाउँ बुक गर्न सकिनेछ ।

पार्किङको लागि १५ मिनेट पहिले नै बुक गर्ने व्यवस्था मिलाइएको छ । यदि बुक गरेको १५ मिनेट भित्र पार्किङ नगरे बुकिङ रद्द हुने ह्विल्स ट्रलीले जनाएको छ । बुकिङ गर्ने समयदेखि नै शुल्क लाग्ने र बुकिङ गर्दा गाडी वा मोटरसाइकल नम्बर पनि इन्ट्री गर्नुपर्नेछ । मोटरसाइकलको लागि एक घन्टाको २५ रुपैयाँ र गाडीको लागि ८० रुपैयाँ शुल्क लाग्नेछ ।

जथाभावी सडकमा सवारी पार्किङ गर्ने समस्याको अन्त्य गर्दै व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिन स्मार्ट पार्किङको अवधारणा अघि सारिएको हो ।

अनावश्यक रुपमा पार्किङ खोजिरहनु नपर्ने हुँदा समयको बचत हुनुका साथै वातावरण प्रदूषण न्यूनीकरणमा समेत सघाउ पुग्ने कम्पनीले अपेक्षा लिएको छ ।

अत्याधुनिक र सुरक्षित पार्किङ, महानगरपालिकाले सवारी उठाएर लैजाने चिन्ता नहुने, अनावश्यक जामको झन्झटबाट मुक्त भइने, समयको बचत हुने लगायत स्मार्ट पार्किङको विशेषता रहेको छ ।