काठमाडौं, ५ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रिका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका हिन्दूधर्ममा आस्था राख्ने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
महाशिवरात्रिका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले हिन्दूका आराध्यदेव महादेवको पूजा अर्चनाले भक्तजनको कामना सिद्धि हुने मान्यता रही आएको बताउनुभएको छ ।
उहाँले यस पर्वले समस्त नेपालीका बीचमा आपसी विश्वास, समझदारी र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई प्रबद्र्धन गर्न सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले नेपाली जनताले साढे सात दशकदेखि लोकतान्त्रिक शासन पद्धतिका निमित्त गरेको सङ्घर्षबाट प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशी लोकतन्त्रलगायत ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने संविधान निर्माणको ऐतिहासिक घडीमा संविधानसभाले निर्माण गर्ने संविधानमा समस्त नेपालीको पहिचान र धार्मिक, सांस्कृतिक, भाषिक स्वतन्त्रतालाई मौलिक स्वतन्त्रताका रूपमा संरक्षित र सुरक्षित राखिने विश्वास दिलाउनुभएको छ ।
सन्देशमा उहाँले समस्त नेपालीबीच आपसी सद्भाव र मेलमिलाप कायम राखी जनताको सुख, शान्ति र समृद्धिको लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी मुलुकको आर्थिक–सामाजिक विकासमा एकजुट रहन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।















प्रतिक्रिया