काठमाडौ, ५ फागुन । एमाओवादीले कांग्रेस सहमतिका आधारमा संविधान जारी गर्न सकरात्मक देखिएको दाबी गरेको छ ।
कांग्रेससित धेरै पटक अनौपचारिक वार्ता गरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवालगायत सहमतिका आधारमा संविधान जारी गर्ने पक्षमा सकरात्मक भएको बताएका छन् ।
दाहालले निकट नेताहरुसंग कुरा गर्दै कांग्रेस शिर्ष नेतृत्व शान्ति प्रक्रिया, जनआन्दोलनका सहयात्रीबीच सहमतिको आधारमा संविधान जारी गर्न सकरात्मक कुरा भएको बताएको कान्तिपुर दैनिकले छापेको छ ।
‘पछिल्लो समय कांग्रेसका शिर्ष नेतृत्व सहमतिका आधारमा संविधान जारी गर्न सकरात्मक भएको पाएको छ’ उनको भनाइ थियो, ‘एमाले अध्यक्ष केपी ओलीलगायत बहुमतीय प्रक्रियाबाट संविधान गर्ने अडानमा छन् ।’
कांग्रेस नेतृत्व सकरात्मक भएर मात्र सहमति हुन नसक्ने उनको भनाइ थियो ।
एमाओवादीले एमाले नेता माधवकुमार नेपाल सहमतिमा संविधान जारी गर्न सकरात्मक रहेको एमाओवादी नेताको बुझाइ छ ।
त्यस्तै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको भूमिका भने पछिल्लो पटक सकरात्मक नभएको एमाओवादीको आरोप छ ।
अनौपचारिक वार्ताबाट सहमति गरेपछि मात्र औपचारिक वार्ता गर्न प्रधानमन्त्री कोइराला र दाहालले यसअघि सहमत भएका थिए । संविधानका अन्तरवस्तुमा माघ ५ गते दिउँसो सहमति नजिक पुगेर अचानक भाडिएको थियो ।
माघ ५ गते संघीयताबाहेक अन्य विषयवस्तुमा सैद्धान्तिक सहमति भएको थियो ।
संघीयताबारे झापा, मोरङ, सुनसरी र सुदूरपरिश्चमका कैलाली, कंचनपुर जिल्ला मिलाउनेबारे बिभिन्न विकल्प अघि सारिएको थियो ।
पूर्वका झापा, मोरङ, सुनसरीको एउटै राज्य बनाउने, झापालाई पहाडी जिल्लासंग मिलाउने, मोरङ र सुनसरीलाई अन्य तराईका जिल्लासंग जोड्ने, यसमा पनि सहमित नभए केन्द्रबाट शासित गर्ने विकल्प अघि आएको थियो ।
त्यस्तै सुदूरपश्चिमका कैलाली र कंचनपुरका बारेमा पनि बिभिन्न विकल्प अघि सारिएका थिए ।
संघीयतामा सहमति नजिक पुगेको वार्ता भाडिएपछि दलहरुबीच दूरी बढेको थियो ।
हाल कांग्रेस र एमाओवादीबीच माघ ५ मै टेकेर अनौपचारिक छलफल भइरहेको छ ।
‘हामीलाई पहिले पहिले जुन स्थानमा थियौ, त्यही ठाउँबाट छलफल सुरु भएको छ’ एमाओवादी महासचिब कृष्णबहादुर महराले भने, ‘वार्तालाई दाउपेचका लागि होइन, साँच्चै सार्थक वार्ता गरी निश्कर्ष निकालौ भन्ने हाम्रो भनाइ हो । अहिलेसम्म अनौपचारिक वार्ताले कुनै मूर्त रुप लिएको छैन ।’
दाहालले बिपक्षी आन्दोलनका बीचमा पनि अनौपचारिक वार्ता गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि गृहकार्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
‘पछिल्लो समय प्रधानमन्त्री कोइराला सकरात्मक देखिनु भएको छ’, दाहालको भनाइ छ ।
प्रधानमन्त्री कोइराला सहमतिका लागि साँच्चै सहमति चाहेको हो वा सत्ता लम्ब्याउन वार्ताको पहल गरेको भन्नेबारे दाहाललाई आशंका छ ।
‘आन्दोलन कमजोर गराउन वार्ताको कुरा गरकोे हो वा साँच्चै सहमति चाहेको हो भन्नेमा एकिन छैन’ दाहालले भन्ने गरेका छन्, ‘तर दलहरुबीच विस्तारै विश्वासको वातावरण बन्दै गएको गएकोचाहि हो ।’
बिपक्षीले फागुन १६ गते राजधानी केन्द्रित आन्दोलन गरेकाले त्यसअघि औपचारिक वार्ता भने नगर्ने भएका छन् ।
त्यसदिन राजधानीमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता ल्याएर सभा गर्ने तयारी उसले गरेको छ । ‘हामी वार्ताभन्दा पुरै आन्दोलनको तयारीमा लागेका छौ’ महराले भने ।
फागुन १६ मा बिपक्षीको पहिलो चरणको आन्दोलन सकिदैछ ।















प्रतिक्रिया