२ कार्तिक २०८३, सोमबार

मानवअधिकार आयोगद्वारा कारागार सुधार गर्न प्रशासनलाई निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rights-commission-nepalकाठमाडौं, ४ फागुन । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले क्षेत्रीय कारागार भुम्का (सुनसरी) को अनुगमन गरी सुधारका लागि आवश्यक निर्देशन दिनुभएको छ ।

सदस्य सुदिप पाठकले कारागार प्रमुख गणेश अधिकारी र प्रमुख जिल्ला अधिकारी छविलाल पन्थको उपस्थितिमा दिनुभएको निर्देशनमा कैदी–बन्दीहरूलाई औपचारिक शिक्षा प्रदान गर्न विद्यालय स्थापना गर्नुपर्ने, उनीहरूले सञ्चालन गर्दै आएका सीपमूलक व्यवसायलाई उद्योग विभागमा दर्ता गर्नुपर्ने, कारागारमा गुनासो पेटिका राख्नुपर्ने तथा सजाय छुटका लागि गरिएका सिफारिसको बोधार्थ आयोगलाई पनि दिनुपर्ने रहेका छन् ।

अनुगमनका क्रममा उहाँले आउँदो छ वर्षभित्र कारागार र हिरासत केन्द्रलाई यातनामुक्त बनाउने दिशामा आयोग प्रयासरत रहेको पनि बताउनुभयो ।

अनुगमनका क्रममा क्षेत्रीय कारागार भुम्का (सुनसरी) को भौतिक अवस्था अन्य कारागारको तुलनामा सन्तोषजनक पाइएको छ । १ हजार ६ सय जनाको क्षमता रहेको सो कारागारमा १ हजार ३ सय ९० जना कैदी–बन्दी रहेका छन् ।

अनुगमन टोलीमा आयोगको क्षेत्रीय कार्यालय (विराटनगर) का प्रमुख कोषराज न्यौपाने, प्रहरी उपरीक्षक सञ्जयराज शर्मा, स्थानीय पत्रकार तथा मानव अधिकारकर्मीहरूको सहभागिता थियो ।