२ कार्तिक २०८३, सोमबार

श्रीमती र नाबालक छोरालाई अलपत्र छाडेर एक युवक फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

20150215_155938– प्रदीप परियार  

बिर्तामोड, ४ फागुन । पाँचथरमा एक युवकले आफ्नै श्रीमती र नाबालक छोरालाई अलपत्र पारेर फरार भएका छन् ।

पाँचथर भालुखोलाका नरे राईले झापा बिर्तामोड–६ स्थित जात्रुबाडीमा रोगी श्रीमतीलाई बेवारिसे अवस्थामा छोडेर भागेका हुन् ।
विभिन्न रोगले च्यापेपछि राईले २४ वर्षीया श्रीमती मुना राईलाई नाबालक छोरासहित छाडेका हुन् ।

ट्रकमा काम गर्दै आएका नरे राईले श्रीमतीको उपचार गर्न नसक्ने भएपछि शनिबार बिहानै छोडेर भागेको उनकी श्रीमतीले बताएकी छिन् ।

४ वर्षीय छोरा सन्देशसहित जात्रुबाडी पुष्पलाल चोकमा वेवारिसे अवस्थामा भेटिएको स्थानीय संगीता उप्रेतीले बताइन् । जाडोले कठ्याङ्ग्रिएर काम्दै गरेको अवस्थामा भेटिएकी राईलाई जात्रुबाडीका अगुवा महिलाले उपचारका लागि साथ दिएका छन् ।

उनको उपचारका लागि सोही ठाउँमा रहेको उन्नतिशील महिला समूहले स्थानीयसँग सहयोग संकलन गरेर आइतबार बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालमा परीक्षण गराएका छन् ।

१२ हजार रुपैयाँ संकलन गरेर उपचारको सुरुआत गरेको समाजसेवी महिलाहरुले मुनाको स्वास्थ्योपचारमा सहयोग गर्न विभिन्न संघसंस्थालाई गुहारेका छन् । महिला समूहकै अगुवाइमा स्वास्थ्य परीक्षण भएपछि उनको थप उपचारका लागि मेची अञ्चल अस्पतालमा पुर्‍याइएको छ ।

‘श्रीमानले छोडेर भागेपछि बिजोग अवस्थामा भेट्दा दया लाग्यो, मानवताको नाताले पनि उनलाई बचाउनु पर्छ’, स्थानीय सुशीला कार्की बस्नेतले बताइन् । ‘उनलाई भेट्दा अचेत अवस्थामा थिइन्, अहिले होश आएको छ’, बस्नेतले भनिन् ।

उपचारका लागि धेरै पैसा खर्च हुने देखिएपछि सरकारी अस्पतालमा पुर्‍याइएको छ । बिरामी राईलाई ५ महिनादेखि जण्डिसले च्यापेको छ, कलेजोमा पानी जमेर पेट फुल्लिएको छ, आँखा पहेंलो भएको उनको उपचारमा सहयोग गर्दै आएका युवा अधिकारकर्मी दीपक दासले जानकारी दिए ।

अञ्चल अस्पतालमा उपचार भएपछि उनलाई ‘एकल महिलाको छहारी’मा राखिने महिला अधिकारकर्मी रेखा अधिकारीले बताइन् । उनको उपचारमा महिला विकास कार्यालयले सहयोग गरेको छ । अञ्चल अस्पतालमा डा. पिताम्बर ठाकुरले उपचार गरिरहेका छन् ।