काठमाडौँ, ४ माघ । औद्योगिक प्रवद्र्धन बोर्डले माथिल्लो कालीगण्डकी जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउनका लागि स्वीकृति प्रदान गरेको छ ।
बोर्डको बैठकले आयोजनामा विदेशी लागानी तथा प्रवद्र्धक एस्सेल क्लिन हाइड्रोपावरको पुँजी वृद्धि र ऋण सम्झौता लगायतका विषयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
कुल ६५ मेगावाट क्षमताको आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रो र यहाँको ट्रेड लिङ्क ग्लोबल प्रालिले संयुक्त लगानी गर्ने भएको छ । म्याग्दी र पर्वत जिल्लाको सिमानामा कालीगण्डकी नदीमा निर्माण गरिने सो आयोजना निर्माणका क्रममा रहेको छ ।
आयोजनामा चिनियाँ कम्पनीले ९२ प्रतिशत र स्वदेशी लगानीकर्ताले आठ प्रतिशत लगानी गर्नेछन् । सो आयोजनामा विदेशी लगानी स्वीकृतिका लागि प्रवद्र्धकले विगतदेखि नै आग्रह गर्दै आएका थिए ।
यस्तै बैठकले सोलुखुम्बु जिल्ला गर्मा र तिलङ्गा गाविसमा आयोजनास्थल रहेको ४० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको एस्सेल क्लिन हाइड्रोपावरको पुँजी र क्षमता वृद्धि गर्न स्वीकृति दिइएको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिनुभयो ।
आयोजनाको लागत रु १३ अर्ब रहेको छ । सो आयोजनामा विदेशी लगानीकर्ताले कम्पनीबाट ऋण लिने गरी ऋण सम्झौताका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
















प्रतिक्रिया