काठमाडौं, १८ जेठ । नेपालमा नयाँ र जटिल प्रकृतिका रोगको प्रकोप बढ्दै गएको छ । पछिल्लो १५ वर्षको अवधिमा नेपालमा चार प्रकृतिका नयाँ रोगको प्रकोप बढ्दै गएको हो । नयाँ रोगको जोखिम बढेसँगै सर्वसाधरणमा त्रास बढ्न पुगेको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।
प्रकोप बढ्नेमा चिकेनगुनिया, स्क्रब टाइफस, डेंगु र बर्डफ्लु रहेका छन् । यी रोगबाट झन्डै २ हजार ५ सय नागरिक प्रभावित भएको ईपीडीमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
ती रोगको प्रकोप बढ्दै गए पनि सरकारले यसको नियन्त्रणमा खासै चासो देखाएको छैन । चिकित्सकका अनुसार ती रोग अत्यन्तै जोखिम प्रकृतिका छन् ।
मानिसको आवतजावत, मौसम परिवर्तनका कारण यस्ता रोग फैलँदै गएको महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । उनले भने, ‘मौसम परिवर्तनकै कारण तराईमा देखिने रोग उच्च पहाडमा देखिन थालेका छन्, मानिसको आवतजावतले पनि यस्ता रोग भित्रिने गरेका छन् ।’
महाशाखाको पछिल्लो तथ्यांकनुसार डेंगुबाट २ हजार १११, स्क्रब टाइफसबाट ३ सय र चिकेनगुनियाबाट १२ जना प्रभावित भएका छन् । ती रोग नियन्त्रणबाहिर छन् । केही रोगको खोज नै नहुँदा कति प्रभावित भए भन्ने आँकडासमेत आउन नसकेको बताइएको छ । त्यसैगरी, बर्डफ्लुसमेत मुलुकमा पटकपटक देखिने गरेको छ ।
पछिल्लो समय मुलुकमा फैलिएको बर्डफ्लुबाट पहिलोपटक एक युवकको मृत्यु भएको थियो । २१ वर्षे एक युवाको बर्डफ्लु भाइरसका कारण मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार चिकनगुनिया भाइरसबाट हुने संक्रमण हो । यो लामखुट्टेको सहयोगले सर्छ । यो संक्रमण एडिस एजिप्टी र एडिस एल्वोपिक्टस जातको संक्रमित लामखुट्टेले टोक्दा सर्छ । यी लामखुट्टेले डेंगु भाइरससमेत सार्छन् ।
दिनको उज्यालोमा टोक्ने यी लामखुट्टे बिहान र अपराह्नपछि बढी सक्रिय हुन्छन् । सन् १९५२ मा तन्जानियामा पहिलोपटक देखिएको चिकनगुनिया बिस्तारै पश्चिम, मध्य र दक्षिण अफ्रिकी क्षेत्र हुँदै एसियामा आएको हो । यो संक्रमण हुँदा उच्च ज्वरो आउँछ र हाडजोर्नी दुख्छ ।
नेपालमा फेला पारिएको स्क्रब टाइफस रोग मुख्यगरी मुसामा लाग्ने एक प्रकारको किर्नाजस्तै ‘माइट’ नामक संक्रमित जीवाणुले टोकेमा लाग्छ । माइट जुम्राजस्तै तर सूक्ष्म हुन्छ ।
प्रायःजसो यो जीवाणु झाडी, खेतबारी, वनजंगल, घरवरिपरिको झाडी, घुरान हुने ठाउँमा देखिने गर्छ । मानिसबाट मानिसमा नसर्ने यो रोग मुसाको एक प्रकारको तरल पदार्थ खाएर अघाएपछि माइट जातको किर्ना झारमा झर्छ ।
त्यही झारमा मानिस पुग्दा टाँसिन्छ र संक्रमितले टोक्दा सर्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिने हुन्छ ।
आँखा रातो हुने, पसिना आउने, झाडापखाला लाग्ने पनि हुन्छ । यो रोग दोस्रो विश्वयुद्धताका जापानी सेनामा देखिएको थियो । घाँसमा झरेको माइट, युद्धमा जंगलमा सेना घस्रने क्रममा सरेको पाइएको थियो । त्यसबेला रोग थाहा नहँुदा बिरामीमध्ये ३० प्रतिशतको ज्यान गएको थियो ।















प्रतिक्रिया