२ कार्तिक २०८३, सोमबार

विद्युत् भोल्टेज नपुगेपछि एक्स–रे मेसिन अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ४ फागुन । जिल्ला अस्पताल खोटाङमा जडान गरिएको एक्स–रे मेसिन लामो समयदेखि अलपत्र बनेको छ ।

एक्स–रे मेसिनका लागि आवश्यक पर्ने विद्युत् ट्रान्सफर्मर जडानमा सम्बन्धित निकायले चासो नदिएका कारण अलपत्र बनेको हो ।

पुरानो एक्स–रे मेसिन बिग्रिएपछि स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको जि.एक्स.आर. डिजिटल एक्स–रे मेसिन विद्युत् भोल्ट्रेज नपुगेकै कारण हालसम्म सञ्चालनमा ल्याउन नसकिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा माधव लम्सालले बताउनुभयो ।

“उक्त मेसिन सञ्चालन गर्न ५० केभिएको ट्रान्सफर्मर आवश्यक पर्छ”–डा लम्सालले भन्नुभयो–“हाल २५ केभिएको ट्रान्सफर्मर भएकाले सञ्चालन गर्न सकिएको छैन, त्यसको प्रत्यक्ष मार सेवाग्राहीमा परेको छ ।”

अस्पताल स्रोतका अनुसार यसअघि सञ्चालनमा रहेको १०० एम.ए. क्षमताको एक्स–रे मेसिन विद्युत् आपूर्तिकै कारण बिग्रिएको जनाइएको छ ।

डा लम्साल भन्नुहुन्छ–“अस्पतालमा हाल दैनिक ४०/५० जना बिरामी एक्स–रे गर्न आउँछन्, विद्युत् अभावमा मेसिन सञ्चालन चलाउन नसकेपछि अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ ।”

अस्पताल स्रोतका अनुसार विगत दुई वर्षदेखि अस्पतालमा यस्तो समस्या झेल्नु परेको जनाइएको छ ।

जिल्लाको एक मात्र अस्पतालमा एक्स–रे नभएपछि कतिपयले चर्को शुल्क तिरेर निजी क्लिनिकमा एक्स–रे गर्ने गरेका छन् ।

बिरामीका अफन्तहरु भन्छन्–“एक्स–रे गर्नकै लागि हेलिकोप्टरसमेत चार्टर गर्नुपर्ने बाध्यता छ, यसमा कसैको ध्यान जान सकेन !”

उता, कार्यालयबाट अस्पताललाई आवश्यक पर्ने क्षमताको ट्रान्सफर्मर दिन नसकिने विद्युत् प्राधिकरण शाखा कार्यालय खोटाङका प्रमुख पुरुषोत्तम रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो– “अस्पतालबाट माग भएको खण्डमा माथिल्लो निकायमा पठाउनसम्म सक्छौँ तर कार्यालयबाट सम्बोधन गर्न सक्ने अवस्था छैन ।”