काठमाडौं, ४ फागुन । एमाओवादीको आन्तरिक विवादबीच सभासद् ल्यारकाल लामाले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो कार्यकक्षमा लामालाई मध्यान्ह सपथ गराएका हुन् ।
विवादास्पद छविका लामाको मनोनयनबारे आन्तरिक विवाद चर्किएपछि एमाओवादी महासचिव कृष्णबहादुर महरासहितका नेताहरुले उनको सपथ ग्रहण रोक्ने प्रयास गरेका थिए ।
दलको सिफारिसमा सभासद् चयन भएर निर्वाचन आयोगको आधिकारिक प्रमाणपत्रसहित सम्बन्धित ब्यक्ति सपथ ग्रहणका लागि आएपछि अन्यथा गर्ने नमिल्ने अभ्यासका कारण लामालाई सपथ गराइएको सचिवालयका एक वरिष्ठ अधिकारीले बताएको कान्तिपुर दैनिकले छापेको छ ।
स्रोतका अनुसार संविधानसभा सचिवालयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले लामालाई तत्काल सपथ गराउन ताकेता गरेका थिए ।
उनको तर्फबाट एमाओवादी केन्द्रीय सदस्यसमेत रहेका निजी सचिव चुडामणी खडका र शिव खकुरेलले संविधानसभा सचिवालयमा सम्पर्क गरी लामालाई सकेसम्म छिटो सपथग्रहण गराउन आग्रह गरेका थिए ।
संविधानसभा सचिवालयले आइतबार मध्यान्हका लागि दिएको समय परिवर्तन नगर्न सभासद् लामा स्वयंले पनि निरन्तर ताकेता गरेका थिए ।
त्यसैबीच महासचिव महराले सपथग्रहण केही दिन पर सार्न गरेको प्रयास असफल भएको हो ।















प्रतिक्रिया