७ कार्तिक २०८३, शनिबार

बिहान ४:१५ को टाइमर, बेलुकी ४:१५ मै विस्फोट, यसरी बिफल भयाे विप्लवकाे नेकपा

13.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १३ जेठ । सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना, तर तीन ठाउँमा अघिल्लो बेलुकी नै विस्फोट, राजधानीका थप चार ठाउँमा बम भेटियो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

घट्टेकुलो

४ः१५ मा घरको कोठाभित्र विस्फोट हुँदा विप्लव समूहको विद्यार्थी संगठनका सिटिइभिटी कमिटीका अध्यक्ष प्रज्वल (विशाल) शाहीको मृत्यु भएको छ । शाही बझाङका हुन् । सो कोठामा सँगै रहेका पश्चिम रुकुमको सानीभेरीका रविन केसी घाइते भएका छन् । उनी सो संगठनको त्रिचन्द्र क्याम्पसका इकाइ अध्यक्ष हुन् । आइतबार साँझ गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सुरक्षा बैठक बसेको थियो । बैठकमा विप्लव समूहप्रति थप कडा रूपमा प्रस्तुत हुन मन्त्रीले निर्देशन दिएका छन् ।

सुकेधारा

करिब ४ः१५ वरिपरि नै सुकेधारास्थित सैलुनभित्र विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । विस्फोटको समयमा सैलुनका सञ्चालक छोटेलाल ठाकुरबाहेक नेवाः मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जन, ट्रेड युनियनका अध्यक्ष हरि खड्का, सैन्य विभागका मध्यकमान्ड इन्चार्ज महावीर र अर्का कार्यकर्ता दीपेनलगायत रहेको प्रहरीले जनाएको छ । घाइतेमा एकजना छोटेलाल छन्, मृत्यु क–कसको भयो भन्ने खुलेको छैन ।

ग्वार्को

सोमबारको नेपाल बन्दलाई लक्षित गरी ग्वार्काे, लगनखेल, सानेपा र कोटेश्वरमा प्रेसरकुकर बम राखिएको थियो । ती सबै ठाउँमा राखिएको बम सेनाको टोलीले डिस्पोज गरेको छ । तर, नागढुंगामा भने विप्लव समूहका कार्यकर्ताले लक्षित ठाउँमा नपु-याउँदै बम विस्फोट भएको छ । गुडिरहेको मोटरसाइकलमा विस्फोट हुँदा बुद्ध लामा र विक्रम लामा घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ, तर कुकरबम बोकेको आरोपमा प्रहरीले कोटेश्वरबाट सातजना पक्राउ गरेको छ ।

सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटियो ।

दुवैतिर एकै समयमा आकस्मिक रूपमा बम विस्फोट हुनुको कारणबारे अनुसन्धान केन्द्रित गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । उनका अनुसार अनामनगर र सुकेधारामा भएको विस्फोटका घाइतेहरूले १२ घन्टाअघि टाइमर मिलाउने क्रममा एक्कासि बम पड्किएको भएको बताएका छन् ।

सुकेधारा, घट्टेकुलो र नागढुंगाका तीनैवटा विस्फोट दुर्घटनावश भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा विप्लव समूहका चारजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । सोमबारको बन्दलाई लिएर विप्लव समूहले थुप्रै ठाउँमा विस्फोटको तयारी गरेको देखिन्छ । तर, प्रहरी र गुप्तचर निकायलाई त्यसको सुइँकोसमेत थिएन । यसले सुरक्षा निकायको सूचना संयन्त्र कति कमजोर छ भन्ने देखाउँछ ।

केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल भने सो समूहले हिंसात्मक गतिविधि गर्र्न सक्ने पूर्वआकलनअनुसार नै प्रहरीले सुरक्षा योजना बनाएर अघि बढेको बताउँछन् । ‘सो समूहका गतिविधि प्रहरीको विशेष निगरानीमै छन्,’ उनी भन्छन्, ‘सूचना संयन्त्र पनि यसमा खटिएको छ ।’

सुकेधाराको ढलाने पुलछेउमा विस्फोट भएको बम निकै शक्तिशाली भएको प्रहरीको भनाइ छ । विस्फोटबाट भुइँमा करिब दुई फिट गहिरो खाल्टो परेको छ । पसलका सिसा फुटेर सडकमा छरिएका छन् । तर, कस्तो किसिमको बम थियो भन्ने, स्पष्ट भइसकेको छैन ।

खोलानजिकैको टहरामा रामप्रसाद बोलखेले ६ वटा सटर बनाएका छन् । जसको छेउमा उनकै गोरखानाथ कुचो पसल छ भने त्यसपछि ‘दाजुभाइको खाजा पसल’ । तेस्रो सटरमा ठाकुरको सैलुन छ । सोही सैलुनभित्र विस्फोट भएको हो । त्यसवेला सैलुनमा ठाकुर र विप्लवका ६ जना कार्यकर्ता मात्र थिए ।

‘म पसलभित्रै थिएँ । सुरुमा भुटभुट गरेको आवाज आयो, लगत्तै ठूलो आवाजमा पड्कियो । बिजुलीको ट्रान्सफर्मर पड्कियो अब मेरो गोदाम सकियो भन्ने लाग्यो,’ घरधनी बोलखे भन्छन्, ‘पड्केपछि पनि बेहोस भएछु । पानी खुवाएपछि बिउँझिए । धन्न केही भएनछ ।

बाहिर मान्छे जम्मा भएर उद्धार गरिरहेका छन् । सैलुनमा ग्यास पड्केको भन्ने सुनेँ । के पड्केको हो थाहा छैन । साढे दुई वर्षदेखि ठाकुर यहाँ बस्दै आएका छन् । तिनको नाम पनि के हो मलाई थाहा भएन ।’ अर्का स्थानीय राम न्यौपानेका अनुसार मृतकहरूको गिदी सडकसम्म छरिएको थियो । ‘ठूलो आवाज आएपछि म आधा मिनेटमै आइपुगेको थिएँ, मान्छेहरू प्राण बचाऊ भनिरहेका थिए, एकजना त मरिसकेका थिए । अरू घाइतेलाई हामीले नै उठाएर ओम अस्पताल पु-याएका हौँ ।’

घट्टेकुलोका बासिन्दा सागर दाहाल कोठामै थिए । पब्जीमा रमाइरहेका उनको मुटु जोडदार विस्फोटले हल्लाइदियो । कोठाबाट हत्तपत्त बाहिर निस्किए । ‘छिमेकीको घरमा ग्यास सिलिन्डर पड्क्यो’ भन्दै बुबा चिच्याए । उनी छिमेकी निमा कार्कीको घरतर्फ दौडिए । तर, गेट खुलेन ।

वैकल्पिक गेटबाट भित्र छिरे । भुइँतलाको कोठाबाट बारुदको गन्ध आइरहेको थियो । उनी त्यतै दौडिए । उनको अगाडि क्षतविक्षत शव पल्टिरहेको थियो । उनले मोबाइल झिकेर तस्बिर खिचे । ‘झ्यालका सिसा फुटेका थिए, लास भुइँमा थियो । भित्ता भत्केको थियो । भुइँभरि रगत देखिन्थ्यो,’ उनले नयाँ पत्रिकासँग घटनास्थलको वर्णन गरे । घटनास्थल प्रहरी र सेनाले घेरेपछि पो उनी साँच्चै डराए । अब उनको मुटु काँप्न थाल्यो । आतंकित बनेका उनी घटनास्थलबाट हत्तपत्त बाहिरिए ।

घट्टेकुलोमै डेरा गरी बस्ने सपना पौडेल कोठाभित्रै थिइन् । ओछ्यानमा पल्टिरहेकै वेला विस्फोटले घर हल्लियो । आत्तिएर उनी बाहिर निस्किइन् । छिमेकी घरबाट धुवाँको मुस्लो उडेको देखियो । हावाले उडाउँदै धुँवा वरवर आयो । ग्यास पड्केको हल्ला छिमेकमा चल्यो, त्यसैले सामान्य घटना ठानिन् ।

त्यहीवेला केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा पढ्ने सुमित कार्कीले इसाराले एकजना घाइते रगत चुहाउँदै भागेको बताएपछि उनी झस्किइन् । ‘सुमित स्कुलबाट सधैँ साढे ४ बजे घर फर्किन्छ । आज पनि त्यही समयमा ऊ घर फर्कँदै थियो । विस्फोटको आवाज आएपछि हामी कोठाबाट बाहिर निस्किएका थियौँ । सुमित आत्तिँदै आइरहेको थियो । उसले इसाराबाट रगतले लत्पतिएको एक अपरिचित विस्फोट भएको घरबाट भागेको बतायो । त्यसवेला पो बम पड्केको थाहा पायौँ ।’