७ कार्तिक २०८३, शनिबार

समाज कल्याणमा ‘पानी बढुवा’

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १३ जेठ । कुनै समय निजामती सेवामा २० वर्ष सेवा गर्दा पनि बढुवा नभएका कर्मचारीलाई एक तह बढुवा गरी सेवा–सुविधा दिई घर पठाउने चलन थियो– यसलाई भनिन्थ्यो पानी बढुवा । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

यस प्रचलनलाई निजामती सेवा ऐन, २०४९ को दफा २४ (घ) को नामले चिनिन्थ्यो । समाज कल्याण परिषद्ले पनि त्यही ‘पानी बढुवा’ लाई पछ्याउँदै विभिन्न पदका आफ्ना कर्मचारीलाई बढुवा गरायो ।

परिषद्को तत्कालीन बोर्डले २०६९ सालमा खरिदारदेखि सहसचिव वा सो सरह रहने निर्देशकसम्मका ४४ जनालाई एकैपटक बढुुवा गरेको थियो । तीमध्ये सबैभन्दा बढी भाग्यमानी हुनुहुन्छ ओभरसियर बोधराज दाहाल । उनको योग्यता ओभरसियर मात्रै हो तर परिषद्को तत्कालीन बोर्डले शैक्षिक प्रमाणपत्र नै नभए पनि इन्जिनियरमा बढुवा गरेको थियो ।

‘पानी बढुवा नै भए पनि दाहालजी वरिष्ठ ओभरसियर मात्र हुनुपर्थ्याे तर बोर्डले इन्जिनियर नै बनायो’, परिषद् स्रोतले भन्यो– ‘त्यसपछि उहाँले आफ्नो कार्यकक्षमा इन्जिनियर लेखेको नेमप्लेट झुन्ड्याउनु भो । त्यही हैसियतमा चिठी–पत्र पठाउन थाल्नुभयो ।’

दाहाल २०७२ देखि सेवा परिवर्तन गरेर सहायक निर्देशक बनेका छन् । आफू नियमानुसार नै इन्जिनियर बनेको दाबी गर्दै उनले भने, ‘मेरो पढाइ ओभरसियरसम्म भए पनि परिषद्को कर्मचारी सेवा सर्त नियमावलीअनुसार ४४ जनालाई एकैपटक बढुवा र सेवा परिवर्तन गर्दा म पनि परेको हुँ ।’

परिषद्को सेवा सर्त नियमावली–२०५० को दफा २७ ‘क’ मा समूह, उपसमूह परिवर्तनमा सम्बन्धित पदका लागि योग्यता पुगेको कर्मचारीको दक्षता र अनुभव हुनुपर्ने उल्लेख छ ।

‘सोही ऐनको दफा १३ ‘क’ मा न्यूनतम शैक्षिक योग्यता नपुगेको व्यक्ति नियुक्त हुन अयोग्य रहने प्रावधान छ’,  स्रोतले भन्यो, ‘तर शैक्षिक योग्यतासमेत नभएकालाई इन्जिनियर बनाएर सरकारी सेवासुविधाको दोहन गरियो ।’

समाज कल्याण परिषद् कर्मचारी सेवा सर्त नियमावली, २०५० ले जेष्ठताको आधारमा कर्मचारीहरुबाट कायममुकायम (कामु) निर्देशकमा नियुक्त गर्न सकिने व्यवस्था गरेको भए पनि उक्त व्यवस्था ६ महिनासम्म मात्र रहन सक्छ । ‘नियमअनुसार कामु ६ महिनासम्मलाई मात्रै हो । तर यहाँ वर्षौँ बितिसक्दा समेत कामुमै छन्’, स्रोतको दाबी छ ।

स्रोतका अनुसार यसै गरी शाखा अधिकृतसरहका सहायक निर्देशकहरु हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला, शिव बस्नेत, दुर्गा भट्टराई, रामराज भट्टराई, दीपेन्द्र पन्त र सञ्जय मल्लिक गरी ८ जनालाई ४४ जनामध्येबाटै उपसचिवसरहको उपनिर्देशक बनाइएको थियो । तीमध्ये निर्देशक तिवारीले केही दिनअघि सेवाबाट अवकाश लिएकाे बुझिएको छ ।