काठमाडाैं, ११ जेठ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार १० महिना पुगेको छ । तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्दा पनि प्रहरीले कुनै संकेत फेला पार्न सकेको छैन । १० महिनादेखि प्रहरी छिट्टै अभियुक्त पत्ता लगाउने भनेर एउटै जवाफ दिन बाध्य छ ।
अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू आफैँ रनभुल्लमा छन् । निर्मला हत्या प्रकरणमा प्रहरी अधिकृतमाथि नै कारबाही गरिएको थियो । हत्याको विरोधमा चर्किएको विरोध प्रदर्शनमा एकजना किशोरको मृत्युसमेत भएको थियो ।
बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीको सामान्य सिद्धान्त हुन्छ– घटनामा संलग्न व्यक्ति चिनजानकै हुन्छ । बलात्कारपछि पीडितबाट आफ्नो पहिचान खुल्ने डरले उनीहरूले हत्या गर्ने सम्भावना हुन्छ भन्ने मान्यतामा आधारित भएर प्रहरीले अनुसन्धान अघि बढाउँछ ।
निर्मलाको हत्या घटनामा समेत प्रहरीले यही सिद्धान्तको सूत्र अवलम्बन ग-यो । तर, अहिलेसम्म प्रहरी सफल हुन सकेको छैन । अभियुक्त पत्ता लाग्ने आशा न्यून हुँदै गएको छ ।
७० जनाको डिएनए परीक्षण
निर्मला हत्या घटनाको अनुसन्धान डिएनए परीक्षणमा अल्झिएको छ । मृतकको शरीरमा बलात्कार गर्ने व्यक्तिको डिएनए नमुना भेटिएको थियो । त्यसबाहेक अन्य प्रमाण फेला पर्नसकेको छैन । सोही प्रहरी अनुसन्धान डिएनए परीक्षणमा केन्द्रित भएको थियो । हालसम्म प्रहरीले करिब ७० जनाको डिएनए परीक्षण गरिसकेको छ । तर, नमुनासँग कसैको पनि नमिलेको प्रहरीको भनाइ छ ।
‘ह्युमेन इन्टेलिजेन्स’तर्फ प्रहरी
राष्ट्रिय मानवअधिकार आयोगले निर्मलाको बलात्कारपछि हत्या घटनाको अनुसन्धान डिएनए परीक्षणबाट मात्र हुन नसक्ने निष्कर्ष निकालेको थियो । डिएनएको नमुना संकलन र परीक्षणमै त्रुटि भएको भन्दै आयोगले ‘ह्युमेन इन्टेलिजेन्स’लगायत अन्य माध्यमबाट अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको पनि चार महिना भइसकेको छ ।
कुनै आरोपीको डिएनए भेजाइनल स्वाबको डिएनएसँग शतप्रतिशत मिले पनि सोही व्यक्ति बलात्कारपछि हत्यामा संलग्न भन्न नसकिने आयोगको निष्कर्ष थियो । आयोगको प्रतिवेदनमा भनिएको छ, ‘डिएनए परीक्षणका लागि भेजाइनल स्वाबलगायतका नमुना संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट गरिएकोमा यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिने अवस्था छैन । यसरी संकलन गरी टेस्ट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन नहुने र डिएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही आउन नसक्नेजस्ता समस्या रहेको पाइयो । मूलतः नमुना संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो ।’















प्रतिक्रिया