४ कार्तिक २०८३, बुधबार

‘नेपाल एसबीआई बैंक’ र ‘खल्ती’बीच डिजिटल भुक्तानीका लागि सम्झौता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ जेठ । नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल एसबीआई बैंकका तर्फबाट बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो र खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनिष मोदीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता समारोहमा नेपाल एसबीआई बैंकका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अनुकूल भटनागर र खल्तीका डाइरेक्टर ध्रुब अधिकारीको समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार अब एसबीआई बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

‘हामी नेपाल एसबीआई बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब नेपाल एसबीआई बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी आफ्नो बैंक खाताबाट सिधै ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ’, सम्झौताको बारेमा बोल्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले भने, ‘नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीले नगद पैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।’

त्यसैगरी नेपाल एसबीआई बैंकका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अनुकूल भटनागरले हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेको बताए ।

‘जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । यो सहकार्य पश्चात हाम्रा ग्राहकहरुले खल्ती प्रयोग गरेर सहजता पूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नुहुनेछ’, उनले भने, ‘यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेका छौँ भन्ने महसुस गरेका छौँ ।’

सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ ।

नेपाल एसबीआई बैंक भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी संचय कोषको प्रवर्धनमा स्थापित बैंक हो । बैंकले हाल ८८ शाखा कार्यालयहरु, ७ वटा प्रादेशिक तथा क्षेत्रीय कार्यालयहरु, १ वटा मानवरहित अत्याधुनिक इनटच काउण्टर र १९ वटा एक्सटेन्सन काउण्टर सहित ११६ इकाई एवं र ११६ एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।