४ कार्तिक २०८३, बुधबार

बास्केटबल राष्ट्रिय खेलाडी श्रेया भन्छिन्– खेललाई करिअर बनाउन मुस्किल

9.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । श्रेया खड्कालाई झापामा पढ्दाताका लाग्थ्यो– के युवतीहरू पनि बास्केटबलमा अब्बल हुन सक्लान् ? स्कुलका दिनमा केटाहरूले उफ्रिएर एउटा भकुन्डोलाई बास्केटमा खसालेको देख्दा, उनमा पनि खेल्ने रहर जागृत भइरहन्थ्यो । तर, उनले त्यहाँ मौका पाइनन् ।

अध्ययनको शिलशीलामा उनी काठमाडौं आइन् । हरेक स्कुल र कलेजमा बास्केटबल अनिवार्य रहेको जस्तो पाइन् । तर, उनलाई काठमाडौंमा भने रहरलाई बन्धकी बनाउनुपर्ने बाध्यता रहेन । बास्केटबल खेल्ने रहर, यहिँबाट सुरु गरिन् । लक्ष्य कुनै थिएन, मात्र रहर थियो ।

अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा अब्बल दर्जाकी बास्केटबल खेलाडी रहेकी उनी भन्छिन्,‘त्यसपछि त म निरन्तर यहि खेलमा अघि बढें । अहिले पनि खेलीरहेकी छु ।’

उनी ८ कक्षामा हुँदा नै महिला टोलीको जुनियर र अहिले सिनियर टोलीमा आवद्ध छिन् । हालै भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा श्रेया आवद्ध टोलीले नै प्रथम स्थान हासिल गरेको थियो । भन्छिन्,‘नेपाली महिला टोली बास्केटबलमा अब्बल नै छ । हामीले राष्ट्रिय मात्र होइन, दक्षिण एसीयामा नै पहिलो पटक दोस्रो उपाधी हात पार्ने अवसर पनि पायौं ।’

खेल जतिसुकै अब्बल देखाए पनि नेपालमा यसको महत्वलाई राजनीतिकरण गरिएकोप्रति उनको रोष छ । अझ, खेलमा लगानी र पारिश्रमिकको उचित मुल्यांकन, निरन्तर तालिम र एकेडेमी नै स्थापित नहुँदा खेलाडी वैकल्पिक पेशामा पनि आवद्ध हुनुपर्ने उनको भोगाई छ ।

उनी बास्केटबल प्रशिक्षण दिन्छिन्, कुनै विद्यालयमा । तर, जागिर गर्छिन् कुनै नीजि कम्पनीमा पनि । खेल जीवन हो तर रहरजस्तो बनाउनु परेको छ । भन्छिन्,‘कुनै प्रतियोगीता हुन लाग्यो भने केही महिना अगाडिदेखि मात्र हामी प्रशिक्षणमा जानुपर्छ । बर्षभरी नै प्रशिक्षण गर्न पाइयो भने त ट्रफिका लागि मुस्किल हुने थिएन ।’

बास्केटबलमा अब्बल खेलाडी भए पनि उनी यहि करिअर बन्छ भन्नेमा ढुक्क छैनन् । खेलप्रति ठूलो लगानी र मनग्य आम्दानी हुने नदेखेपछि उनलाई लाग्न थालेको छ,‘यो रहरको एउटा पाटो हो ।’

‘खेल, जागिर र अध्ययन समानान्तर बनाउने कोशीश गर्छु तर खेल नै करिअरचाहिँ हुन्न होला’, उनले दैनिक नेपालसँग भनिन्,‘नेपालमा उचित मुल्यांकन र मान्यता दिए बास्केटबलमा महिला टोलीले निक्कै राम्रो गर्न सक्ने सम्भावना छ ।’