४ कार्तिक २०८३, बुधबार

फुटबल प्रशिक्षक संघले पूर्णता पायो, अब प्रभावकारी काम गर्ने प्रतिवद्धता

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ५ जेठ । अखिल नेपाल फुटबल प्रशिक्षक संघको कार्यसमितिले पूर्णता पाएको छ । निर्वाचन भएको करिब १५ महिनापछि शनिबार संघले पोखरामा पत्रकार सम्मेलन गर्दै महासचिव र कोषाध्यक्षको मनोनयन गरेको घोषणा गरेर कार्यसमितिलाई पूर्णता दिएको हो ।

संघका अध्यक्ष विनोद लामाका अनुसार महासचिवमा राजेश खड्गी र कोषाध्यक्षमा उर्जन श्रेष्ठलाई मनोनित गरिएको छ । रिक्त पदको कारण कार्यसमितिले अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुले मात्रै काम गर्दै आएका थिए ।

मनोनित महासचिव खड्गी दुई दशकभन्दा लामो समयदेखि फुटबलमा आवद्ध छन् । उनले रानीपोखरी कर्नर टिम (आरसिटी)बाट व्यवसायिक फुटबल करियर शुरु गरेका थिए । त्यसपछि मनाङ मस्र्याङदी क्लबमा ६ वर्ष बिताए ।

मनाङमा ६ वर्ष रहँदा दुईपटक शहीद स्मारक ए डिभिजन लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसपछि उनी थ्रीस्टार क्लबमा आवद्ध थिए। नेपाली फुटबलको राष्ट्रिय टोलीको उपकप्तान समेत रहेका उनी हाल प्रशिक्षणतर्फ अग्रसर छन् ।

त्यस्तै, कोषाध्यक्षमा नियुक्त भएका उर्जन श्रेष्ठ एएफसी ए लाईसेन्स प्राप्त प्रशिक्षक हुन् । उनले पनि लामो समय नेपाली फुटबलमा बिताइसकेका छन् । दुई पटक थ्रीस्टारलाई लिग विजेता हुदाँ उनी महत्वपूर्ण खेलाडी थिए ।

बैठकमा मनोनित भएका महासचिव खड्गी र कोषाध्यक्ष श्रेष्ठलाई कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले खादा लगाइदिएका थिए । संघको बैठकमा ८ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसअघि संघले २०७४ माघ २३ गते नयाँ कार्यसमिति चयन गरेको थियो । १६ वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा)को विधान अन्तर्गत गठित भएपनि संघले यस अघि शून्य गतिविधि गर्दै आएको थियो । संघको भूमिका प्रभावकारी नभएपछि लामो समयपछि फेरि संघलाई जीवन्तता दिने उद्देश्यसहित निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको थियो ।

कार्यसमितिले पूर्णता पाएसँगै संघले फुटबलको विकासको लागि प्रशिक्षक संघको प्रभावकारी भूमिका रहने साथै, संघलाई बिस्तार गर्दै एन्फासँग पनि सहकार्य गर्दै अगाडि बढ्ने अध्यक्ष लामाको भनाई छ ।