२ कार्तिक २०८३, सोमबार

सुतली बम पड्काउँदै लुटपाट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनियानी (झापा), २ फागुन । झापाको दक्षिणी पथरीया गाविसमा भारतीय हातहतियारका डाँका समूहले आज बिहान सुतली बम पड्काउँदै लुटपाट मचाएका छन् ।

पथरीया–४ स्थित बगान बजारमा रहेको विष्णु खतिवडाको घरमा आएका १२ देखि १५ जनाको भारतीय डाँका समूहले घरधनी र उनको परिवारलाई निर्घातरुपमा कुटपिट गर्दै लाखौँको धनसम्पत्ति लुटेर लगेको पीडित परिवारले बताएका छन् ।

डाँका समूहका कुटपिटबाट एकै परिवारका चार जना घाइते भएका छन् । घाइते हुनेहरु घरधनी विष्णु खतिवडाको निधार, आँखा र पेट, तारा खतिवडाको बाँया हात भाँचिएको छ भने तुलसा खतिवडाको ढाड र द्रोपदा खतिवडाको कानमा चोट लागेको प्रहरीले जनाएको छ ।

हाल उनीहरुको ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ । कालो पोसाकमा मुख छोपेर हातहतियारसहित आएका डाँका समूहले विष्णु खतिवडाको घरबाट नगद रु पाँच लाख र पाँच तोला सुन लुटेर लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटना विवरणअनुसार घरमा सुतिरहेको अवस्थामा विष्णुकै घरलाई लक्षित गरी आएका डाँका समूलले उनको ढोकाको ग्रिल काटिरहेको आवाज घरका आफन्तजनले थाहा पाएका थिए ।

आवाज कहाँबाट आइरहेको भन्दै घरबाट बाहिर निस्कने बित्तिकै विष्णुलाई डाँका समूहले निर्घातरुपमा कुटपिट गर्दै घरभित्र प्रवेश गरेका थिए । आफ्नो ज्यान तथा छिमेकीलाई बोलाउन त्यहाँबाट विष्णु भागेका थिए । त्यसपछि घरभित्र प्रवेश गरेका डाँका समूहलाई तारा खतिवडा र तुलसा खतिवडाले प्रतिकार गर्न खोज्दा डाँकाले उनीहरु माथि कुटपिट गर्दै रडले प्रहार गरेका थिए ।

घरमा रहेको नगदसहित सुन लुट्नुका साथै द्रोपदा खतिवडाले कानमा लगाएको सुनको मुद्रासमेत लगेकोे पीडित विष्णु खतिवडाले बताए । डाँका समूहको खोजीकार्य तीव्र पारिनुका साथै घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी विश्वमणि पोखरेलले जानकारी दिनुभयो । रासस