काठमाडौं, २ फागुन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
सार्वजनिक सवारीसाधनमा भाडा नघट्दा यात्रुले भने बढी तिर्नु परेको छ ।
राजधानीका सवारीसाधन, ट्याक्सी र मालवाहक ट्रकले आजसम्म भाडा समायोजन गरेका छैनन् ।
समितिले आवश्यक निर्णय नगरेको भन्दै राजधानीका कुनै पनि रुटका सवारीसाधनले भाडा घटाएका छैनन् ।
कतिपय समितिले भने आफूहरु छलफलमा नै रहेको भन्दै भाडा घटाउन अस्वीकार गरेका छन् ।
सरकारले गत माघ २८ गतेदेखि लागू हुनेगरी भाडा समायोजन गरेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सरोकार भएकाहरूसँग छलफल गरी सार्वजनिक यातायातमा २.०३ प्रतिशतले भाडा घटाएको थियो ।
मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले ट्याक्सीमा १.६ प्रतिशत र ट्रकमा पाँच प्रतिशतले भाडा घटाउने निर्णय गरिएको जानकारी गराउनुभएको थियो ।
त्यसैगरी पहाडी जिल्लामा चल्ने सार्वजनिक यातायातमा ४.३७ प्रतिशत र तराईमा ढुवानी गर्ने ट्रकमा भने ५.२८ प्रतिशतले भाडा घटेको छ भने काठमाडौं उपत्यकामा चालु आवको पुसमा तोकिएको भाडादरमा एक घटेर न्यूनतम नयाँ भाडा १३ देखि अधिकतम २५ सम्म कायम गरिएको थियो तर नयाँ भाडादर कायम भएको चार दिन बित्दासमेत कहीँ कतै कार्यान्वयन भएको छैन ।
यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीले समायोजित भाडादर लागू हुने क्रममा रहेको जानकारी दिनुभयो ।
नेपाल राष्ट्रिय यातायात महासङ्घका अध्यक्ष दिनेश भण्डारीले सरकारले लागू गरेको नयाँ भाडादर लागू गर्न आफूहरु तयार रहेको जानकारी दिँदै कहीँ कतै समस्या देखिएको भए केही दिनमै समाधान हुने बताउनुभयो ।















प्रतिक्रिया