४ कार्तिक २०८३, बुधबार

अब प्रिपेड मोबाइलमा पनि अन्तर्राष्ट्रिय रोमिङ सेवा

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ बैशाख । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ ।

अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् ।

त्यसैगरी, सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने छन् ।

चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने छ । त्यसैगरी, नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ ।

भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने छ । त्यसैगरी, नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने छ ।

भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्ने छ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैैँया लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गरेका थिए । सेवालाई हाल व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो । अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनका लागि *1415#  डायल गर्नु पर्ने छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी तथा सुविधा लिन सकिन्छ । त्यसैगरी, कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।