काठमाडौँ, १ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानका लेखनका विषयमा राजनीतिक दलबीच केही मतभिन्नता भए पनि अन्ततः सहमतिकै आधारमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
चौथो विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबले आयोजना गरेको कार्यक्रममा उहाँले अलग अलग आस्था भए पनि देशको हितका लागि सहमति आवश्यक भएको बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “राजनीतिक मतभिन्नता भए पनि मलाई विश्वास छ सहमतिबाटै हामी टुङ्गोमा पुग्नेछौँ, वार्ता, सहमति, एकता र सहकार्यबाटै हामी अगाडि बढ्छौँ ।”
वर्तमान अवस्थामा शान्ति र अमनचयन आवश्यक भएको उल्लेख गर्दै उहाँले कुनै पनि किसिमको अन्दोलन र धम्कीले देशको अवस्था माथि नउठ्ने र जनताले त्यसमा विश्वास नगर्ने अवस्थाको सबैले महसुस गरिसकेकाले सहज वातावरण बन्दै जाने बताउनुभयो ।
राजनीतिक अस्थिरतालाई सल्टाएर गरिबी, अशिक्षा र बेरोजगारीलाई अन्त्य गर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले त्यसका लागि सामुदायिक रेडियोले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा विशेष जोड दिनुभयो । उहाँले लोकतन्त्र ल्याउनमा रेडियोले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो, “सबैको अधिकार स्थापना गर्दै सबै भाषा, संस्कृति, धर्मको जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको रेडियोले अब शान्ति र स्थायित्वका लागि सकारात्मक भूमिका खेल्नुपर्छ ।”















प्रतिक्रिया